स्याउखेतीमा व्यस्त मुगुका कृषक

मुगु– हिमाली जिल्ला मुगुमा सडक सञ्जाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्दो छ । स्याउको माग बढेपछि कृषकहरू स्याउखेतीप्रति आकर्षित भएका छन् । यतिबेला मुगुका कृषक बिरुवाको काँटछाँट, गोडमेल, मलजल गर्ने चटारोमा व्यस्त छन् ।
माघ–फागुन महिना स्याउका बिरुवामा पालुवा, कोपिला हाल्न, अगावै स्याउका बोटमा निस्किएका अनावश्वक हाँगा काँटछाँट, गोडमेल, मलजल, गर्ने उपयुक्त समय हो । यतिबेला काँटछाँट, गोडमेल, मलजल, निलोतुथो, चुना, लगाएपछि स्याउको उत्पादन राम्रो हुन्छ । त्यसैले हिजोआज मुगुको स्याउ पकेट क्षेत्र रहेको ताल्चा, पिना, झ्यारी, कोटिला, बाम, रोवा, सोरुकोट, कालापाल्त, धैन, सेरी, जाम, रासकोटिवाड, खमाले, लुमेरामा कृषकहरू स्याउ बगैंचामा व्यस्त देखिन्छन् ।
‘१५ वर्षको उमेरमा घर परिवारसहित भारतको हिमाञ्चल प्रदेशमा ३२ वर्षसम्म बसेर भारतमा स्याउखेतीमा काम गरे जीवन बिताएँ,’ जसन्त कुलालले भने, ‘कति अर्काको देशमा काम गर्ने आफ्नै जन्मघरमा गएर स्याउखेती गर्छु भनेर भारतबाट स्याउका बिरुवा ल्याएर अहिले आफ्नै घरमा पाँच सय स्याउका फल दिने बिरुवा लगाएको छु ।’ २५ सय साना बिरुवा छन् ।
घर परिवार अन्य व्यवसायमा लागेका छन् भने पाँचजना घर परिवार बिहानदेखि बेलुकासम्म यी स्याउको रेखदेख गोडमेलमा व्यस्त हुने गरेको छाँयानाथ रारा नगरपालिका–६ का स्याउ कृषक जसन्त कुलालले बताए । विगतका वर्षमा ‘कोदो, जौ, गहुँ, तरकारी खेतीले बालबच्चा र घर चलाउन समस्या थियो । पछिल्लो समयमा सडक सञ्जाल जोडिएपछि स्याउको माग बढ्न थाल्यो ।
त्यसैले पुरानो काम छाडेर स्याउखेती सुरु गरेका हौं । अहिले घरखर्च र छोराको पढाइ खर्च स्याउखेतीले धानेको छ । बिहान उठेदेखि बेलुकासम्म स्याउ बारीको स्याउको सेवामा ब्यस्त रहेको छु मेरो स्वास्थ्यले साथ दिउन्जेलसम्म यही स्याउखेती गर्ने छोराछोरीले पढे लेखेपछि पनि यही स्याउखेती गराउन लगाउने छाँयानाथ रारा नगरपालिका–१० का कृषक कर्णसिंह सेजुवालले बताए ।
पुरानो जौ, गहुँ, फापर, कोदो, आलुखेतीबाट राम्रो आम्दानी नभएकाले पुरानो खेतीभन्दा स्याउखेतीबाट राम्रो आम्दानी हुने भएकाले एक दशकदेखि स्याउका बिरुवा उमार्ने, स्याउ फलाउने काममा व्यस्त रहेका अगुवा कृषक मणिचन्द्र भामले बताए । मुगु स्याउखेतीका लागि उपयुक्त हावापानी भएको जिल्ला हो । जिल्लाभरि क्षेत्रफलको हिसाबमा स्याउ उत्पादन हुने ५०५ हेक्टर क्षेत्रफल भए पनि फल दिने ३७५ हेक्टर रहेको छ ।
पछिल्लो समय मुगुमा धेरै कृषकले व्यावसायिक स्याउखेती गरिरहेको भए पनि प्राविधिक ज्ञान अभाव रहेको देखिएको छ । स्याउ कृषकको बगैंचा बारी, बगानमै पुगेर प्राविधिकसहित गएर स्याउ काँटछाँट गोडमेल गर्ने निलोतुथो लगाउने लगायत अन्य ज्ञानमूलक तालिम दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइका प्रमुखले बताए ।