सडक सञ्जाल विस्तारसँगै सस्तियो भान्सा

वीरेन्द्रनगर– २०४० सालतिर मकै, चामल खरिद गर्नका लागि डोल्पाबाट भेडा लिएर जाजरकोट नलगाडस्थित गाउँमा पुग्ने त्रिपुराकोटका धनबहादुर कठायत हाल घर आँगमै खाद्यान्न ट्याक्टरमार्फत् ढुवानी गर्छन् । करिब करिब ४१ वर्षपछि धनबहादुर भेडा लिएर जाने बाटोमा ठूला सवारीसाधन गुडेको देख्दा विकासको अनुभूति गरेको बताउँछन् ।
घरबाट भेडा लिएर खाद्यान्न खरिद गरेर महिना दिनमा मुस्किलले घर पुग्ने धनबहादुर आजभोलि एकै दिनमा दुई पटक यताउति गर्नसक्ने अवस्था आएको भन्दै खुसी साटने गरेका छन् । भेरी नदीको कडा तथा चट्टाने बाटो छिचोल्दै जीवन नै धरापमा पारेर २०४० देखि २०७१ सम्म ३१ वर्ष संघर्षका दिन बिताएको बताउने उनी हाल सडक यातायातसँग डोल्पा जोडिएपछि सहज रूपमा यात्रा गर्न पाएको बताउँछन् । भेडाको ठाउँमा आजभोलि ट्याक्टरदेखि अन्य सवारीसाधनले ढुवानीको काम गरिरहेको उनको भनाइ छ ।
डोल्पाका स्थानीयबासीका लागि अधिकांश खाद्यान्न जाजरकोट र रुकुमबाट लिने गरिन्थ्यो । बाटोमा जाँदै गर्दा सातु र अन्य खाद्यान्न ठूला ओडारमा लुकाएर राख्ने गरेको डोल्पा ल्हँका कालिबहादुर बुढाले बताए । फर्कंदा केही ठाउँको खाद्यान्न वन्यजन्तुले खाएर नभेटिने गरेको उनले सुनाए । उनले भने, ‘अहिलेको जस्तो ठाउँठाउँमा होटल, पसल कहाँ थिए र ? बास बस्नका लागि ओडार खोज्नुपर्ने अवस्था थियो । खोलाको किनारमा पानी पाइने भएकाले सक्भर सोही ठाउँ रोज्ने चलन रहेको थियो ।’
समयले धेरै कोल्टो फेरेको बताउँदै अर्का दुनैका प्रवीण केसीले विकास भन्ने कुरा मानिसलाई नपुग्ने रहेछ भन्दै भने, ‘सडक पुग्यो, अब पिच भएको सडक हामीलाई चाहियो । अन्य संरचना पनि आवश्यक छ । सुविधा सम्पन्न ठाउँजस्तै हामी डोल्पाले सेवा किन नपाउने ? संघीयतापछि सबै ठाउँ एकै नासको हुनुपर्छ हाम्रो भनाइ त्यही हो ।’ यहाँका अधिकांश स्थानीयबासीको माग यही छ । डोल्पाको सदरमुकामसम्म अहिले सहज रूपमा यातायातका साधन सञ्चालन भए पनि उपल्लो डोल्पामा भने यातायात सञ्चालन गर्न सडक नहुँदा पीडा उही २०४० सालजस्तै छ ।
भेरी करिडोर योजना सदरमुकाम दुनैसम्म जोडिएपछि अहिले साना, ठूला बजार विस्तार भएका छन् । ठाउँठाउँमा होटल खुलेका छन् । बजारीकरण बढेसँगै व्यापारसमेत बढेको छ । तल्लो तथा मध्य डोल्पाका अधिकांश ठाउँमा स्थानीय तथा प्रदेश सरकारको पहलमा सडक खन्ने काम जारी छ । सडक पुगेपछि घरघरमा आर्यआर्जनका काम गर्नसमेत सहज भएको छ । १० वर्ष अगाडि बस्ती नभएका ठाउँमा अहिले बस्ती विकास भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का विष्णुप्रसाद देवकोटाले बताए ।
देवकोटाले भने, ‘हाम्रो पुस्ता भाग्यमानी रहेछ, सबैका खालका कुरा हाम्रा पालमा देख्न पाइयो ।’ अहिले बिहान ७ बजे नेपालगन्जबाट गाडीमा यात्रा गर्दा बेलुकी डोल्पाको सदरमुकाम दुनै पुग्न सकिन्छ । भेरी करिडोरको रिम्ना, राडी, कालिमाटी, चौखा, तल्लु, अनाह, त्रिवेणी, खदाङ, त्रिपुराकोट र दुनैमा बजारीकरण भएको छ । ३० किलो चामललाई तीन हजार रुपैयाँमा समेत मुस्किलले पाइथ्यो भने हाल दुई हजारले सजिलै पाइने गरेको स्थानीयबासी बताउँछन् । डोल्पालीका भान्सासमेत सस्तो भएको छ । अहिले तल्लुबाट दुनैसम्म कच्ची सडक छ ।
सो सडक निर्माण गर्नका लागि चार अर्ब २० करोड अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । केही दिनभित्र स्तरोन्नतिका लागि बोलपत्र आह्वानको काम सुरु हुने भेरी करिडोर योजना प्रमुख सुनिल रञ्जितकारले बताए । २०५०/०५१ तिर डोल्पाको दुनैमा रहेर बाल्यकाल बिताएका योजना प्रमुख ३१ वर्षपछि सोही ठाउँका सडक बनाउने जिम्म लिएर आएका छन् । योजना प्रमुख रञ्जितकारका बाबा तत्कालीन सो समयमा ‘पञ्चायत विकास अधिकारी’ (पीडीओ) हुँदा रञ्जितकार बाबासँग दुनै बसेका थिए ।
सुर्खेतको छिन्चुमा सडक निर्माण गर्नका लागि छिन्चु–जाजरकोट सडक सडक खण्डको रेखाकङ्नमा समेत खटिएका रञ्जितकार हाल जाजरकोट डोल्पा सडकको स्तरोन्नतिको काममा लागिपरेका छन् । बाबाले सेवा गरेको ठाउँमा छोराले काम गर्न पाउँदा विगत सम्झेको उनको भनाइ छ । बाबाको सपनासँगै डोल्पाबासीको गम्भीर चासोलाई आफूले ढिला नगरी तीव्रताका साथ काम गर्ने प्रतिबद्धता उनको छ । दुनैसम्म अहिले हरेक सामग्री लिने र ल्याउने काम सहज रूपमा भएको छ ।