सरकारी विद्यालयमा आधारभूत शिक्षाको मोह

पछिल्लो समय सरकारी विद्यालयमा आधारभूत शिक्षाको मोह बढ्दै गएको छ । अहिले चलेको भर्ना अभियानका क्रममा सरकारी विद्यालयले अंग्रेजी शिक्षालाई बढी प्राथमिकता दिँदै प्रचार गरिरहेका छन् । प्रायः अंग्रेजी माध्यममा निजी विद्यालयले मात्रै पढाउने गरेका छन् ।
पछिल्लो समयमा प्रतिस्पर्धाका रूपमा आधारभूत शिक्षा सञ्चालन गर्न जुम्लामा तँछाड मछाड छ । भर्ना अभियान चलिरहँदा विद्यालय व्यवस्थापन समितिको बैठक बस्दै आधारभूत शिक्षा अनिवार्य गर्ने निर्णय गरेका छन् । मावि निमाविभन्दा प्रावि विद्यालयहरूले आधारभूत कक्षालाई जोड दिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खडानन्द चौलागार्इंले जानकारी दिए । जुम्लामा रहेका १ सय बढी प्राथमिक विद्यालयमध्ये ७५ प्रतिशत विद्यालयमा आधारभूत शिक्षाको थालनी भइसकेको उनको भनाइ छ । बाँकी २५ प्रतिशत विद्यालयमा पनि यही शैक्षिक सत्रबाट सुरु हुने बताए ।
यही शैक्षिक सत्रबाट जुम्लाका तातोपानी गाउँपालिका अन्तर्गत सुन्दरमणि प्रावि डाँगीबाडा, कालिका प्रावि लिताकोट, मालिका प्रावि गौतमबाडा, गणेश प्रावि राँकालगायतका विद्यालयमा एकै साथ आधारभूत कक्षा सञ्चालन गर्ने निर्णयसहित भर्ना अभियान सुरु गरेका छन् । सरकारी विद्यालयहरूमा पढ्ने बालबालिकालाई पनि निजी विद्यालय सरह अंग्रेजी माध्यममा चनाखो बनाउन आधारभूत कक्षा सञ्चालन गर्न आवश्यक रहेको शिक्षक राजु केसीले बताए ।
खर्च घटाउन आधारभूत कक्षा
अहिले पनि सामान्य निजी विद्यालयमा लाग्ने खर्च थेगिनसक्नु छ । कापी, कलम, किताब, ड्रेसलगायत अन्य सबै खर्च जुटाउन सामान्य आयस्तर भएकालाई निकै चुनौतीपूर्ण छ भने अर्कोतर्फ त्यस्तो खर्चिलो शिक्षाले गर्दा गरिबका बालबालिका स्तरीय शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुन पुग्ने स्थिति देन्छि । तसर्थ उही तलबमा बिनाशुल्क सरकारी विद्यालयमा आधारभूत अंग्रेजी कक्षा सञ्चालन गर्दा खर्चलाई पनि घटाउन सकिने कालिका प्रावि विद्यालयका प्रधानाध्यापक लालचन्द्र कार्कीले बताए । यही शैक्षिक सत्रबाट कक्षा सुरु गर्छौं ।
स्रोत खोजेर भए पनि आधारभूत कक्षा चलाउने जुम्ली शिक्षकहरूकोे प्रतिबद्धता छ । यता वडाध्यक्ष डिल्ली रावलले आधारभूत कक्षा सञ्चालन गर्दा भइपरि आउने समस्या समाधानका लागि वडा कार्यालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन् भने जुम्लाका हरेक स्थानीय तहले गुणस्तरीय शिक्षाका लागि विशेष सहयोग गर्ने बताएका छन् । तिला गाउँपालिकाभित्र पर्ने सबै प्राथमिक विद्यालयलाई आधारभूत शिक्षामय बनाउने अभियान रहेको गाउँपालिका प्रमुख रतननाथ योगीले बताए ।
रित्तिँदै निजी विद्यालय
सरकारी विद्यालयमै निःशुल्क रूपमा अंग्रेजी कक्षा सञ्चालन हुने भएपछि निजी विद्यालय छाड्दै सरकारी विद्यालयमा भर्ना धमाधम भइरहेको छ । महँगो खर्च हुनबाट पनि बच्ने भन्दै सरकारी विद्यालयमा भर्ना गर्नेको ताँती लाग्ने गरेको छ । सहरी क्षेत्रमा अझै पनि निजी विद्यालयको मोह भए पनि ग्रामीण क्षेत्रमा सञ्चालन भएका निजी विद्यालय भने रित्तिन थालेको सुन्दरमणि आधाभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावले बताए । पहिले लाइन लागेर बोर्डिङ जान तयार हुन्थे । उनले भने, “अब बोर्डिङमा पढाइ हुने सबै सरकारी विद्यालयमा गएपछि गाउँमा खोलिएका निजी विद्यालय बन्द हुने अवस्थामा छन् ।” जुम्लामा औपचारिक रूपमा गएको बिहीबारबाट भर्ना अभियान सुरु भए पनि त्यसअघि नै जुम्लाका विभिन्न सरकारी विद्यालयले आधारभूत कक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिसकेका थिए । स्थानीय सरकारको सहयोग समर्थनमा आधारभूत शिक्षा थालनीलाई टेवा पुग्ने देखिन्छ । कक्षा नर्सरीदेखि ५ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ प्रधानाध्यापकहरू भन्छन्, “बोर्डिङ पढ्नु र आधारभूत कक्षा पढाउनुमा कुनै फरक छैन ।”
–सागर परियार