आज महाशिवरात्री, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज (बुधबार) महाशिवरात्री देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । बुधबार महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । बुधबार नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।
बुधबार बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदु:खी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
बुधबार देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।