सराङकोटमा बने ३५ करोडका पर्यटन तथा धार्मिक पूर्वाधार

पोखरा– सराङकोट क्षेत्रमा भौतिक पूर्वाधार बढेपछि पर्यटक आकर्षण बढेको छ । १ हजार ५ सय ९२ मिटर उचाइमा रहेको सराङकोटबाट धौलागिरी, माछापुच्छे, अन्नपूर्ण, गणेश हिमाललगायत हिमश्रृंखला तथा मनमोहक सूर्योदय र सूर्यास्त देखिने भएकाले यो उत्कृष्ट पर्यटन गन्तव्य बनेको छ ।
करिब चार दशकअघि विदेशी पर्यटकहरु दृश्यावलोकनका लागि सराङकोट आउन थालेपछि स्थानीयले होटल–रेष्टुरेण्ट खोल्न थालेका थिए । अहिले यहाँ करोडौंका पर्यटन पूर्वाधार निर्माण भएको होटल व्यवसायी सुनिल जिसीले बताए । होटल सराङकोटका सञ्चालक जिसीले भने, ‘यहाँ पर्यटकहरुले नै सम्भावना देखाएका हुन् । पूर्वाधार विकाससँगै पर्यटक बढेका छन् । मौसम खुलेको दिनमा दुई हजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।’
प्याराग्लाइडिङ, जिपलाइन, भ्यूटावर, केबलकारलगायत भौतिक संरचनाले सराङकोटमा पर्यटक आगमन उत्साहपूर्ण रहेको उनले बताए । स्थानीय लोकबहादुर थापाको नेतृत्वमा ढुंगेकाली मन्दिर स्थापना गरी सराङकोट क्षेत्रमा पर्यटकीय एवं धार्मिक भौतिक संरचना निर्माणको सुरुवात भएको सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । धार्मिक पर्यटनसमेत प्रवद्र्धन गर्ने उद्देश्यले सराङकोटमा २०६१ सालमा महायज्ञ आयोजना भएको थियो । सराङकोटमा हालसम्म करिब ३५ करोडको भौतिक संरचना निर्माण भएको समितिले जनाएको छ ।
विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, भ्यू टावर, १०८ शिवलिंग, १०८ धारा, भूमे कालिका मन्दिर, गणेश मन्दिर, होमन कुण्ड, स्वागतद्वार, बहुउद्देश्यीय भवनलगायतका भौतिक संरचना सराङकोटमा निर्माण भएको संयोजक जिसीले बताए । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि बृहत् गुरुयोजनामार्फत हालसम्म चारपटक आयोजना भएको महायज्ञ तथा दाताको सहयोग र सरकारको सहयोगमा ती संरचना निर्माण भएको समितिले जनाएको छ । रोडशो कन्स्ट्रक्सन प्रालि तथा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङको नेतृत्वमा विभिन्न दाताको सहयोगबाट ११ करोडको लागतमा पञ्चमुखी गणेशको मूर्ति स्थापना भएको समिति अध्यक्ष जिसीले जानकारी दिए ।
सराङकोट धामको रुपमा विकास गर्न यही फागुन १४ गतेदेखि पुनः महायज्ञ आयोजना गर्न लागिएको अध्यक्ष जिसीले बताए । सराङकोटमा हालसम्म निर्माण भएका पर्यटकीय एवं धार्मिक स्थलहरुको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने भएको छ । महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको राष्ट्रपति पौडेलले १७ फागुनमा औपचारिक उद्घाटन गर्ने मूल आयोजक समितिका अध्यक्ष जिसिले बताए ।
सराङकोट आफैंमा पर्यटकीय हुँदै प्रसिद्ध धार्मिक क्षेत्रको रुपमा समेत विकसित हुँदै आएको पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बताए । महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुर्याउने अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए ।
सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उद्यान, योग ध्यान केन्द्रसहित दृष्यावलोकनका लागि आकाशे शिशाको पुलसहितको थप योजना सम्पन्न गर्न महोत्सव कोशेढुंगा सावित हुने आयोजक समितिका सचिव दिलबहादुर जिसीले जनाए । महायज्ञको पहिलो दिन पोखराको सिमपानीस्थित गाईघाटदेखि कलश यात्रा हुने समितिले जनाएको छ ।
शिशाको आकाशे पुल, हनुमान र बुद्धको मूर्ति निर्माणमा १५ करोड खर्च हुने र यसका लागि महायज्ञ आयोजना गर्न लागिएको अध्यक्ष जिसीले जनाए । सराङकोटमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न पोखरा महानगरपालिकाले समेत आवश्यक सहयोग गर्ने पोखराका मेयर धनराज आचार्यले बताउँदै आएका छन् । सराङकोटमा अधुरा भौतिक संरचना निर्माण गर्न दाताको खोजीसमेत सुरु भएको प्रचार संयोजक कृष्ण थापाले बताए ।
दुई सयमै केबलकार चढ्न पाउने
यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा आयोजना हुने महायज्ञमा आउने आगन्तुक भक्तजनहरुको लागि अन्नपूर्ण केबलकारले विषेश छुटमा सेवा दिने भएको छ । महायज्ञमा सहभागी हुने भक्तजनलाई दुई सय रुपैयाँमा यात्रा गराउने अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए । अन्य व्यक्तिहरुको लागि भने ७ सय रुपैयाँ रहेको छ । महायज्ञको समयमा दुईवटा निःशुल्क सटल बस पोखराको लेकसाइडबाट सञ्चालन हुनेछन् ।