हरियाली उद्यान बनाउन टहरा हटाउँदै महानगर

ललितपुर- ललितपुर महानगरपालिका–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको छ । न्हुँ पुखुको पूर्वपट्टि सार्वजनिक जग्गामा बनेका टहरा महानगरपालिकाले हटाउन थालेको हो । टहरा भत्काएर हरियाली उद्यान बनाउन लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताएका छन् ।
नमूना मच्छिन्द्र माध्यमिक विद्यालयसँगै १४ रोपनी दश आनामा रहेको सप्तपाताल पोखरी र राजदल गणसँगैको ३० रोपनीमा पलेस्वाँ पोखरी पुन:निर्माणको चरणमा छ । टहरा भत्काइएको पश्चिमतर्फ न्हुँ पोखरी छ । यी तीन पोखरी र यहाँ बनाउन लागिएको उद्यानलाई गौरवको ठूलो परियोजनाका रुपमा बजेट विनियोजन गरेर महानगरले काम अगाडि बढाउँदै गएको छ ।