खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

सङ्खुवासभा- कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । सोमबार बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए ।
उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो । सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।