एभरेष्ट बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं– एभरेष्ट बैंकले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले फागुन ८ गते फिदिम नगरपालिका–१ पाँचथरमा १३०औं र फागुन ९ गते फुङ्लिङ नगरपालिका–४ ताप्लेजुङमा १३१औं शाखाको औपचारिक उद्घाटन गरेको छ । कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
फिदिम र फुङ्लिङमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेष्ट बैंकका शाखाहरूको उद्घाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्ने भएका छन् ।
फिदिम र फुङ्लिङ शाखाको उद्घाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङ्लिङ शाखामा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधि, बैंकका कर्मचारी लगायत स्थानीयबासीको उपस्थिति थियो ।
साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तीय पहुँचबाट बाहिर रहेका अन्य स्थानमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।