चक्रपथको स्यूचाटार–बसुन्धरा खण्ड
७ वर्षपछि अगाडि बढ्यो सडक विस्तार प्रक्रिया

काठमाडौं– चक्रपथ सडक विस्तारको दोस्रो खण्ड (कलंकीको स्यूचाटारदेखि बसुन्धरा कल्र्भटसम्म) डीपीआरका लागि प्रक्रिया अगाडि बढेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक अनुदानमा विस्तार हुने सडकको डीपीआर डिजाइन गर्नेका लागि कन्सल्ट्यान्ट हायर गर्ने प्रक्रिया अगाडि बढाएको हो । काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार डीपीआर डिजाइन गर्न चिनियाँ पक्षले ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाएको छ ।
विस्तार प्रक्रियामा भाग लिन इच्छा देखाएको कम्पनीले हालै स्थलगत भ्रमण गरेर फिर्ता भएको आयोजना प्रमुख ओझाले बताए । उनले भने, ‘चीन सरकारले सडक विस्तारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) डिजाइन गर्न कन्सल्ट्यान्ट हायर गर्ने प्रक्रियामा गएको छ । चिनियाँ पक्षले डिजाइनका लागि ठेक्का खुला गरेको जानकारी छ । यसै शिलशिलामा ठेक्कामा भाग लिने कम्पनीले साइड भिजिट गरेर फिर्ता भएको छ । डिजाइन गर्ने टोली छनोट भएपछि विस्तारको काम अगाडि बढ्ने छ ।’
सडक विस्तारका लागि चिनियाँ पक्षले प्रक्रियामै रहेकाले ढिलाई भएको जनाइएको छ । १७ महिना अगाडि माइनट अफ् डिस्कसनमा भएको थियो । चिनियाँ पक्षले उच्च तहमा कर्जा स्वीकृत गर्नुपर्ने भएकाले प्रक्रिया ढिला भएको र स्वीकृत भएपनि डीपीआर सुरु गर्न र विभागसँगको समन्वयमा ठेक्का आह्वन भएर निर्माणको काम थाल्ने जनाइएको छ । अब डीपीआरको प्रक्रिया अगाडि बढेसँगै आयोजनाले गति लिने आयोजना प्रमुख ओझाको भनाइ छ ।
उनले भने, ‘साइड क्लियर छ । निर्माण प्रक्रियामा जानका लागि कुनै बाधा छैन ।’ कुल ६२ मिटर चौडाई रहने सडकमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्नेछ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २/२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुनेछ । बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक/एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ ।
नेपाल सरकारले निर्माण गर्ने सर्भिस लनको पनि काम अगाडि बढेको आयोजना प्रमुख ओझाको भनाइ छ । नेपालतर्फ निर्माण गर्ने सर्भिसलेनको दायाँबायाँ गरेर १२ किलोमिटर कालोपत्रे गर्नुपर्ने छ । आयोजना प्रमुख ओझाका अनुसार ३ कि.मि कालोपत्रे भएको छ भने ९ कि.मि बाँकी छ । अब त्यसमध्ये ३ कि.मि कालेपत्रे हुने क्रममा छ भने ६ किलोमिटर कालेपत्रे गर्न बेस निर्माणको चरणमा रहेको छ । २ वर्षभित्रै निर्माण सम्पन्न हुने सडकको साढे आठ किलोमिटर सडक खण्डमा ६ अर्ब लागत लाग्ने अनुमान छ ।
वि.सं. २०३२ सालमा चीनकै सहयोगमा साढे २७.२ किलोमिटरको चक्रपथ निर्माण गरिएको थियो । अहिले चीन सरकारको आर्थिक तथा प्राविधिक अनुदानमा चक्रपथ सडक विस्तार योजना अघि बढाइएको हो । सांघाई निर्माण समूह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच २०१२ डिसेम्बर १८ मा भएको सहमतिसँगै चीन सरकारले सांघाई निर्माण समूहलाई चक्रपथ निर्माणको जिम्मेवारी दिएको थियो । सोही अनुरुप सांघाई निर्माण समूहले नेपालस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच चक्रपथ सुधार आयोजनामा सम्झौत भएको थियो ।
चक्रपथ विस्तारका लागि आर्थिक तथा प्राविधिक सहयोगका लागि सन् २०१० डिसेम्बर २३ मा नेपाल र चीन सरकारबीच हस्ताक्षर भएको थियो । इन्जिनियरिङ डिजाइन र प्राविधिक डकुमेन्ट ‘द थर्ड रेलवेय सर्वे एण्ड डिजाइन इन्स्टिच्यूट ग्रुप कर्पोरशन’ ले गरेको हो । मिनेटस अफ् मिटिङ अन कन्सट्रक्सन चीन सहयोग काठमाडौं चक्रपथको बीच (सेन्टर) भागबाट ३१ मिटर फराकिलो (२५ मिटर दुवैतर्फ, ६ मिटर सिट बेल्ट) हुनेछ । नेपाली समूहको सहयोगमा चीनिया टोलीले सडक डिजाइन तयार गरेको हो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो । तर, चक्रपथ कलंकी–कोटेश्वर सडक हस्तान्तरण गरेको (०७५ माघ) ७ वर्ष व्यतीत हुदाँ चक्रपथ विस्तारको विस्तार काम प्रभावित भएको छ । २०७६ को फागुनमै सरकारले साइड क्लियर गरेर विस्तारको जिम्मा दिने योजना थियो ।
तर, आन्तरिक प्राविधिक तथा कोभिड–१९का कारणले आयोजनाको ढिलाएको थियो । कलंकी–महाराजगंज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । सडक निर्माणका लागि कम्पनीले डीपीआर तयार गरेर काम थाल्न ‘साइड क्लियर’ हुनुपर्ने चिनियाँ पक्षको सर्त थियो । तर साइड क्लियर भएको २ वर्षसम्म पनि सडक विस्तारको कामले गति लिएको छैन । २०७९ फागुनमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले ६ महिनामा आयोजना विस्तारको लागि जनशक्ति परिचालन हुने बताएका थिए ।