यात्रामा सहजता थप्दै झोलुंगे पुल

गुल्मी– गुल्मीमा झोलुंगे पुलले यात्रामा सहजता थपिरहेका छन् । जिल्लाको चार ठाउँमा पछिल्लो पटक निर्माण भएका झोलुंगे पुलले यात्रामा सहजता थपिरहेका हुन् । जिल्लाको रेसुंगा नगरपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकामा बनेका चार झोलुंगे पुलले यात्रुको यात्रामा सहजता थपेका छन् । यी पुल सात करोड २६ लाख रुपैयाँको लागतमा बनेका छन् ।
मालिका गाउँपालिकामा वडा नम्बर ५ छापहिले लाकुरीदेखि वडा नम्बर २ दर्लिङ चुत्राबोट जोड्ने गरी जिल्लामै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको छ । यो पुल खोला तर्नका निम्तिभन्दा पनि एउटा वडाबाट अर्को वडासम्म छिटो छरितो पुग्नका निम्ति निर्माण गरिएको हो । पुल निर्माण भएसँगै दुई घण्टाको दूरी केही मिनेटभरमै पुग्न सकिने भएको छ । झोलुंगे पुल निर्माण भएसँगै भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका मालिका गाउँपालिका तीन वडाका नागरिकलाई सहजता भएको छ ।
यो झोलुंगे पुल अग्लो स्थानमा निर्माण भएकाले पर्यटकीय गन्तव्यसमेत बनेको छ । यसको लम्बाइ ३७५ मिटर रहेको छ । पुल दुई करोड तीन लाख रुपैयाँ लागतमा निर्माण भएको हो । पुलको निर्माण निलगिरि निर्माण सेवा प्रालिले गरेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंका सिनियर इन्जिनियर हुमाकान्त मिश्रले बताए । त्यस्तै एक वर्षअघि मात्रै जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको पर्यटकीयस्थल विचित्र गुफा पुग्ने स्थानमा धुर्कोट गाउँपालिका–५ र इस्मा गाउँपालिका–६ जोड्ने गरि झोलुंगे पुल निर्माण भएको छ ।
वस्तुमा रहेको विचित्र गुफा र धुर्कोट परमानन्द बहुमुखी क्याम्पसमा पुग्ने विद्यार्थीको सहजताका लागि झोलुंगे पुल निर्माण गरिएको हो । राङदाल चौर र विचित्र गुफा क्षेत्र जोड्ने गरी छल्दीखोला माथि झोलुंगे पुल निर्माण गरिएको छ । खोलामाथि निर्माण भए पनि यो पुलले पनि पदैल यात्रीको वारिपारि गर्ने गरी दूरी कम गरेको छ । यो पुल एक करोड ८९ लाखको लागतमा निर्माण भएको हो । ३७० मिटर लम्बाइ रहेको पुलमा एक पटकमा ७९९ जना पदयात्री आवतजावत गर्न सकिन्छ । झोलुंगे पुल निलगिरि निर्माण सेवा प्रालिले गरेको हो ।
जिल्ला सदरमुकाम तम्घासमा पनि एउटा वडाबाट अर्को वडामा जानका लागि झोलुंगे पुल निर्माण भएको छ । केही महिनाअघि मात्रै निर्माण सम्पन्न भएको रेसुंगा नगरपालिका–२ उदिनढुंगा र वडा नम्बर ७ लसुने डाँडा जोडने नमुना झोलुंगे पुल निर्माण भएको छ । लसुने डाँडाबाट तम्घास बजार आउन २० मिनेटभन्दा बढी समय लाग्ने बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ । तम्घास बजारको उदिनढुंगाबाट साखिने डाँडा पुग्ने ३५७ मिटर लामो पुलको निलगिरि निर्माण सेवा प्रालिले नै गरेको हो ।
नेपाल सरकार सहरी विकास मन्त्रालय स्पेन्सन ब्रिज डिभिजनमार्फत् एक करोड ८४ लाखको लागतमा पुल निर्माण भएको इन्जिनियर प्रवेश रेग्मीले बताए । पुलको पारवहन क्षमता एक सय सात मेट्रिक टन रहेको छ । झोलुंगे पुलमा एक पटकमा ७७२ जना पदयात्री हिँड्न मिल्ने क्षमता छ । त्यस्तै जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ९ जोडने नमुना झोलुंगे पुल निर्माणमा सामाजिक तथा प्राविधिक सहयोग सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीले गरेको थियो ।
कुल ५० लाख ६६ हजार लागतमा उक्त पुल निर्माण भएको हो । झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत ९२ प्रतिशत, रेसुंगा नगरपालिकाको ६ प्रतिशत र उपभोक्ता समितिको दुई प्रतिशत श्रमदानमार्फत बनेको हो । पुल निर्माणका लागि हेल्मेटार नेपाल (टीभीएसयू) ले लठ्ठा सहयोग गरेको थियो । विद्युत चोक बगाले खोला भुजेल खर्क जोडने पुलको लम्बाइ ११८ मिटर रहेको छ ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले अतिआवश्यक ठाउँमा निर्माण भएका झोलुंगे पुलले यात्रुलाई सहजता थपेको बताउँदै अनावश्यक ठाउँमा बन्ने पुलले दिगो विकासको आयाम नथप्ने बताए । ‘आवश्यक नै हो भने झोलुंगे पुलले दूरी घटाएको छ, सहजता थपेको छ,’ जिसस गुल्मीका प्रमुख खत्रीले भने, ‘अनावश्यक ठाउँमा बनेर दिगो विकासलाई नसमेट्ने र प्रतिफल कम दिने हो भने त फेरि सोच्नु नै पर्छ ।’ हालको परिस्थिति हेरेर दिगो विकासलाई टेवा पुग्ने कार्यक्रममा थप लगानी गर्नुपर्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीले बताए ।