रुपन्देहीमा वार्षिक ७ हजार टन माछा उत्पादन

भैरहवा– रुपन्देहीमा वार्षिक ७ हजार टन माछा उत्पादन हुन थालेको छ । जिल्लामा व्यावसायिक रूपमा माछापालन व्यवसाय फस्टाएपछि उत्पादन बढेको हो । माछापालन गर्ने कृषकहरू बढ्दै जाँदा र पालन गर्ने क्षेत्रफलसमेत बढेपछि जिल्लाका विभिन्न पालिकाहरूलाई माछा सुपरजोनको रूपमा विकास गरिदै कार्यक्रमअघि बढाइएको छ ।
जिल्लाको सियारी, सुद्धोधन, गैडहवा, मायादेवी, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका गरी ४४ वटा वडाहरूमा यो कार्यक्रम सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख नारायण काफ्लेले जानकारी दिए ।
कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी सुपरजोनमा समावेश गरिएको माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरूको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रमको उद्देश्य रहको काफ्लेले बताए ।
रुपन्देहीमा अहिले सुपरजोन क्षेत्रअनुसार १ हजार १ सय १२ हेक्टर जलाशय क्षेत्रमा माछा पालन हुँदै आएको छ । रुपन्देहीको माछा सुपरजोन क्षेत्रमा वार्षिक ६ हजार ८ सय ९५ टन माछा उत्पादन भइरहेको छ । सुपरजोनमा नसमेटिएका र स्वेच्छिक रूपमा माछापालन गर्दै आउने कृषकहरूको संख्यासमेत बढ्दो छ । जसका कारण उत्पादन वार्षिक ७ हजार टनभन्दा बढी हुने अनुमान गरिएको छ ।
राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरू भएकाले रुपन्देहीलाई माछाको विशिष्टीकृत जिल्लाका रूपमा तोकिएको र हालसम्म सुपरजोन क्षेत्रको कार्यक्रम सुरु भएपछि प्रत्यक्ष रूपमा १३२ कृषक समूह, कृषि सहकारी संस्था, जल उपभोक्ता समिति तथा निजी उद्यमीसहितका १ हजार ६ सय २७ कृषक परिवार लाभान्वित रहेका परियोजना कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख काफ्लेले बताए ।
रुपन्देहीमा सबैभन्दा बढी सियारी गाउँपालिकामा ४ सय १५ हेक्टरमा माछापालन हुँदै आएको छ । यहाँ वार्षिक रूपमा जलाशय क्षेत्र बढ्दै जाँदा उत्पादन बढेर वार्षिक २ हजार ५ सय २६ टन पुगेको छ । माछा उत्पादनका हिसाबले रुपन्देहीको छपिया नेपालमै अग्रस्थानमा रहेको छ । माछामा समृद्धि देखेका यहाँका अधिकांश किसानले धान र गहुँको परम्परागत उत्पादन छाडेर माछापालन गर्दै आएका छन् ।
रुपन्देहीमा रहु, नैनी, सिल्भर, बिगहेड, कमन, कार्प जातीको माछापालन हुने गरे पनि कृषकहरूको ध्यान कार्प प्रजातिको माछामा बढी रहेको छ । अहिले कृषकहरू पंगास प्रजातिका माछापालनतर्फ आकर्षित भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक सहायक गंगा सागर बरई बताउँछन् ।
उनका अनुसार तिलापिया जातका माछामा कृषकहरूको आकर्षण बढ्दो छ । परियोजना कार्यान्वयन एकाइले माछापालक कृषकलाई माछा पोखरी खन्न केही अनुदानलगायतका विभिन्न प्राविधक सहयोग उपलब्ध गराउँदै आएको छ । तर पनि माछापालनको व्यावसायिक रूपमा लागेका यस क्षेत्रका किसानलाई महँगो दानादेखि भारतबाट आउने अवैध माछाले समस्या पारेको छ ।
रुपन्देही माछा व्यवसायी संघका अध्यक्ष दीपु भुसालले महँगो दानादेखि भारतीय अवैध माछासँग प्रतिष्पर्धा गर्न कठिन भएको बताए । सियारी–५ छपियाकी माछापालक कृषक तारा पाण्डेले भारतबाट अवैध रूपमा भित्रिने अवैध माछाले आफूहरूको माछाको बजारीकरणमा समस्या परेको बताउँदै भारतबाट आउने त्यस्ता माछाको आयात रोकिनु पर्ने बताइन् ।
रुपन्देहीका अगुवा मत्स्य पालक कृषक पुण्यप्रसाद चौधरीले धेरैको आर्थिक अवस्था नै माछापालनका कारण परिवर्तन भएको बताए । एउटै माछा पोखरी ३ बिगाहासम्मका छन् । अब परम्परागत पोखरीको सट्टा प्लास्टिक पोखरी बनाउने क्रम धेरै छ । यो पेशामा व्यावसायिकता बढेको र माछापालनमा आवश्यक पर्ने प्रविधिहरूको प्रयोग कृषकहरूले गर्न थालेको चौधरीको भनाइ छ ।