Logo

मदन भण्डारी राजमार्गको तम्घास–छल्दी खण्ड जीर्ण

गुल्मी– मदन भण्डारी राजमार्गको तम्घास–छल्दी खण्ड जीर्ण बन्दै गएको छ । गुल्मीको पश्चिम क्षेत्र जाने मुख्य सडकको यो खण्डमा सडक कालोपत्रे भएको केही वर्षमै खाल्डाखुल्डीमा परिणत भएको हो । मदन भण्डारी राजमार्ग अन्तर्गत सडकको तम्घासदेखि छल्दीसम्मको नौ किलोमिटर कालोपत्रे गरिएको सडक भत्किएपछि थप जोखिम बनेको स्थानीय कमल रानाले बताए ।

कालोपत्रे भएको केही वर्षमै गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गतको सडक हस्तान्तरण नहुँदा राजमार्गको विभिन्न स्थानमा सडक खाल्डाखुल्डीले जोखिम बनेको छ भने कतिपय स्थानमा नालीमा घाँस उम्रिएर सडक जोखिम बनेको छ । जसले गर्दा राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन तथा यात्रुले सास्ती खेप्दै आएको स्थानीय रानाले गुनासो गरे । उनले सडक मर्मतका लागि कार्यालयलाई जानकारी गराए पनि कुनै सम्बोधन नभएको गुनासो गर्छन् ।

सडकको छल्दी–तम्घास खण्ड सदरमुकाम नजिकै रहेर पनि मर्मतमा ध्यान नजानु दु:खद रहेको स्थानीय जोघुलाल भण्डारीले बताए । पक्की सडकका घुम्ती भएको स्थानमा जीर्ण सडक बनेकाले कैयौं सवारीसाधन दुर्घटना हुने जोखिम बढेको उनले गुनासो गरे । सडक निमार्णको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले नौ किलोमिटर सडक क्लियर गरेर नदिएकाले सो सडक हस्तान्तरण हुन सकेको छैन ।

सडक हस्तान्तरण नहुँदा मर्मतमा समेत समस्या परेको मदन भण्डारी योजना कार्यालय तम्घासका प्रमुख इन्जिनियर रमेश चौधरीले बताए । सडक निर्माणका लागि कुल २१ करोड १० लाख रुपैयाँमा निर्माण व्यवसायीले निर्माणको जिम्मा लिएका थिए । तर, सम्झौताअनुसार काम नसकेपछि दुईपटक थप गरेर अन्तिम म्याद २ चैत ०७६ को दिइएको थियो ।

सम्झौता रकममध्ये २० करोड ६९ लाख ७० हजार भुक्तानी भइसकेको छ । ठेक्का हस्तान्तरणपूर्व निर्माण व्यवसायीले गर्नुपर्ने मर्मतको काम नगरेपछि बाँकी भुक्तानी भने रोकिएको थियो । कार्यालयले भुक्तानी रोकेपछि निर्माण व्यवसायीले मुद्दा दर्ता गरेका छन् । निर्माण व्यवसायीको पक्षमा मुद्दा आएपछि फेरि विभागले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उच्चले पनि निर्माण व्यवसायीकै पक्षमा फैसला गरेको थियो । विभागले फेरि सर्वोच्चमा मुद्दा लडने तयारी गरेकाले सडक तत्काल मर्मत हुने देखिँदैन । मुद्दाका कारण स्वतन्त्र रूपमा सडकको मर्मत–सम्भार गर्न नसकिएको कार्यालयले जनाएको छ । मुद्दाको किनारा लागेपछि मात्रै मर्मतको काम गर्न सकिने उनको भनाइ छ । सम्झौताअनुसारकै काम पनि बाँकी रहेकाले पछि पनि थप समस्या देखिएको हो ।

सडकको सेउघा, छल्दी लगायतका धेरै ठाउँमा कालोपत्रे सडक जीर्ण बन्दै गएको हो । यहाँ साना ठूला सवारीसाधन दुर्घटनाको जोखिममा पर्ने गर्नेका छन् । राजमार्गको तम्घासदेखि २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो । त्यस बीचको तम्घास–छल्दी खण्डबाहेक अन्यत्र मर्मत गर्ने कार्य भएको छ । कुल २९ किलोमिटर सडक करिब एक अर्बको लागतमा कालोपत्रे गरिएको थियो ।

मदन भण्डारी योजना कार्यालय तम्घासका प्रमुख इन्जिनियर रमेश चौधरीले सडकसम्बन्धी मुद्दा किनारा लागेपछि समस्या समाधान हुने बताएका छन् । निर्माण व्यवसायीले एकपटक सडक मर्मत गरेर हस्तान्तरण गरेपछि आफू मातहतमा रहने र सडकको थप मर्मत तथा सुधारका काम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्