सडक हस्तान्तरण नहुँदै क्षतिग्रस्त, मर्मतमा ढिलाइ

धनकुटा– निर्माण सकेर हस्तान्तरण नहुँदै धनकुटाको बिहीबारेहाट, बञ्चरे, तेलिया, परेवादीन हुँदै तेह्रथुम जोड्ने लक्ष्य राखिएको सडक विभिन्न स्थानमा भत्किएको भन्दै स्थानीयले गुनासो गरेका छन् । गत वर्ष खनियाँबास बञ्चरे खण्डको विभिन्न स्थानमा र अन्य स्थानमा समेत बाटो भत्किएको पर्खाल भासिएको तथा पहिराले बाटोमा क्षति गरे पनि सम्बन्धित निर्माण कम्पनीले मर्मत सम्भारमा चासो नदेखाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
धनकुटाको बिहीबारेहाट, बञ्चरे, तेह्रथुम सडक कालोपत्रे गरिएको एक वर्ष पनि पूरा भएको छैन । तर कालोपत्रे गरिएको २३ किमिमध्ये खनियाँबास, तांखुवाखोला बञ्चरे खण्डको करिब सात किमिको विभिन्न स्थानमा बर्खामै सडक क्षतिग्रस्त बनेको थियो । क्षतिग्रस्त सडक पुनर्निर्माण र मर्मतसम्भारमा ढिलाइ भइरहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ का वडाध्यक्ष ज्ञानबहादुर लिम्बुले बताए । मर्मत सम्भारको समय आउने असारसम्म भए पनि पूर्वाधार विकास कार्यालय भोजपुरले गएको असारमै निर्माण कम्पनीलाई सम्पूर्ण भुक्तानी दिइसकेको छ ।
भत्किएको सडक मर्मतसम्भार र सरसफाइमा भइरहेको ढिलाइले यस क्षेत्रका लाभग्राही समस्यामा परेको वडाध्यक्ष लिम्बुको भनाइ छ । बर्खे भल र बाढीले यो सडकको ठाउँठाउँमा लगाइएको टेवा पर्खाल भत्किएको छ । भलले खोलेर कालोपत्रे उप्काएको छ । बीचसडकमा पहिरोसँगै झरेका रुख र ठूल्ठूला ढुंगासमेत अझैसम्म हटाइएको छैन । गेग्रान, ढुंगामाटो र लेदोले पुरिएको सडकको नाली सफा गरिएको छैन ।
सडक सफाइ र मर्मतसम्भारमा ढिलाइ हुँदा सेवाग्राही समस्यामा परेको छथरजोरपाटी–४ का ओमप्रकाश पराजुलीले बताए । उनले भने, ‘बर्खामा भत्किएको सडक दसैं तिहारपछि मर्मत गर्ने कुरा थियो तर प्रभावकारी रूपले काम भएको छैन । सडक निर्माण लागत करिब ५७ करोड रुपैयाँ थियो । सडक निर्माणका लागि तोकिएको दुई वर्षे म्याद २०७९ असारमै सकिएको हो । त्यसपछि थपिएको म्याद गुज्रिए पनि मर्मत सम्भारको अवधि २०८२ असारसम्म छ ।
उक्त अवधिअघि नै निर्माण कम्पनी र सरकारी पक्षले सडक मर्मत सम्भारको काम सक्नुपर्ने स्थानीय खगेन्द्रप्रसाद खतिवडाको भनाइ छ । मर्मत सम्भार अवधि बाँकी रहेकाले निर्माण कम्पनी शर्मा, भीमेश्वर जेभीले सरसफाइ र भत्किएको सबै पूर्वाधार पुनर्निर्माण गर्नुपर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।
सडक निर्माणको जिम्मा पाएको शर्मा भीमेश्वर जेभी निर्माण कम्पनीका प्रतिनिधि सहदेव खड्काले सरकारी पक्षसँग भएको सम्झौताअनुसार भत्किएको सडकका संरचना पुनर्निर्माण र सरसफाइको काम सुरु गरिसकिएको जानकारी दिए । ‘सडक सरसफाइको काम सुरु गरिसकेका छौं, मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर पुनर्निर्माण र मर्मतसम्भारको काम अघि बढाउँछौं,’ खड्काले भने । कम्पनीको धरौटी र मर्मतसम्भारको अवधि बाँकी नै रहेकाले क्षतिग्रस्त सडक २०८२ असारअघि नै दुरुस्त पारेर सरकारलाई जिम्मा लगाइने खड्काको दाबी छ ।