ट्रमा सेन्टर निर्माण अन्तिम चरणमा

दाङ– प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा रहेको लमहीमा निर्माणाधीन ट्रमा सेन्टर निर्माण कार्यले तीव्रता लिएको छ । कुनै अवरोध नआए असार मसान्तसम्ममा सबै पूर्वाधारको काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको छ ।
काम थालनी गरेको सुरुवाति चरणमा कोरोना महामारी अनि भवन निर्माण परिसरमा रहेका रुखका कारण काममा अवरोध खेपेको ट्रमा सेन्टरको कामले अहिले गति लिएको छ । सडक दुर्घटनामा परेर घाइते भएकाको समयमा उपचार गर्ने मान्यताका साथ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्दै लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउने घोषणा गरेको करिब चार वर्ष बितिसक्दा अहिले कामले केही गति लिएको छ ।
लुम्बिनी प्रदेश सरकार मातहत रहेको सहरी विकास तथा भवन कार्यालय घोराहीले हेर्दै आएको छ । करिब २२ कट्ठा जग्गामा प्रदेश ट्रमा सेन्टर निर्माणको काम भइरहेको छ । उक्त जग्गा वन क्षेत्रमा पर्ने भन्दै ट्रमा सेन्टर निर्माणको काम अघि बढ्न नसकेपछि प्रदेश सरकारले वनको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार प्राप्तिको प्रक्रिया थालेपछि निर्माणको काम सुरु भएको थियो ।
सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख इश्वरीप्रसाद देवकोटा अनुसार निर्माण कम्पनीलाई चैत मसान्तसम्म कामको म्याद रहेको भए पनि सबै काम सम्पन्न गर्न असार मसान्तसम्म व्यावहारिकता हेरेर गर्न दिन सकिने बताए । कामले गति लिएको हुँदा मुख्य भवनको काम करिब सकिएको र अब क्यान्टिन, डाक्टर र कर्मचारी क्वाटर बनाउने काम भइरहेको उनले बताए ।
‘म्याद चैतसम्म हो । काम पूरै नसकिए पनि म्याद थपेर सकाउने योजना छ । अहिले कामले गति लिएको छ । मैले पनि स्थलगत रूपमा कामको अवस्थाबारे निगरानी बढाएको छु । अहिले विनियोजन हुनुपर्ने बजेटअनुसार बजेट रकम आएको छैन तर निर्माण कम्पनीलाई विश्वासमा लिएर काम सकाउने गरी अनुरोध गरेको छु । काम सकाउने गरी उनीहरू पनि खटिएका छन्,’ उनले भने, ‘अहिले पूरा पैसा आएको छैन । चार करोड निकासा थियो त्यसमा पनि खर्च भएर अब डेढ करोड जति छ । अरु अपुग देखिन्छ । हामीले प्रदेश सरकारसँग अपुग रकम माग गरेका छौँ । सरकारको अवस्थाले आउने नआउनने थाहा भएन । तर, जसरी पनि काम गराउने पक्षमा छौँ ।’
सम्झौता गर्दाको समयभन्दा अहिले सामग्रीको मूल्य निकै फरक परिसकेको हुँदा मूल्य समायोजन गरेर पनि जानुपर्ने अवस्था रहेको निमित्त कार्यालय प्रमुख देवकोटाले बताए । उनले प्रोजेक्टको बिलसँग सम्बन्धित हुने भन्दै १० प्रतिशत इस्टिमेट लागत अनुमानको वा २५ प्रतिशतसम्म सम्झौताको रकमको हुने हुँदा यसमा सबैभन्दा कम रकम जुनमा हुन्छ मूल्य समायोजनमा त्यही रकम दिने व्यवस्था रहेको उनले बताए । तोकिएको समयमा सक्नुपर्ने समयमा ४० प्रतिशतमात्रै गरेको निर्माण कम्पनीले पछिल्लो समय भौतिक प्रगति देखिने गरी काम गरेको सहरी विकास तथा भवन कार्यालय दाङका निमित्त प्रमुख देवकोटा बताउँछन् ।
निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको भौतिक प्रगति ८५ प्रतिशत भएको छ । जग्गाको स्वामित्व तथा निर्माण स्थलमा भएका रुख हटाउने विवादका कारण लामो समयसम्म काममा ढिलाइ भएको थियो । तर, अहिले धेरै जसो काम सहज बन्दै गएपछि कामले गति लिएको हो । सम्झौताअनुसार निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा निर्माण सक्नुपर्ने अवधिमा ४० प्रतिशत मात्र काम गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको ट्रमा सेन्टर २०८० असार २३ गतेभित्र निर्माण सक्ने गरी २०७७ फागुन २८ गते लामा एण्ड गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । ५० शैयाको ट्रमा सेन्टर निर्माणका क्रममा कुनै प्राविधिक समस्या नदेखिए म्याद थप गरेको २०८१ चैत मसान्त भए पनि असार मसान्तभित्र काम सक्ने अवस्था रहेको निर्माण कम्पनीका प्रतिनिधि आइतसिंह तामाङ बताए ।
सुरुमा काममा ढिलाइ भए पनि अहिले ट्रमा सेन्टर निर्माणको कामले गति लिएको उनको भनाइ छ । ‘यदि यही गतिमा काम हुनसके म्याद थप गरेको समयमा निर्माणको सबै काम सकिने देखिन्छ, यो अवस्थामा २०८२ सालमा ट्रमा सेन्टर सञ्चालनमा आउने वातावरण बन्ने छ,’ तामाङले भने, ‘भोलिका दिनमा कुनै कानुनी जटिलता वा बाधा अड्चन आउन नदिन सबैले सकारात्मक साथ सहयोग गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार ट्रमा सेन्टरको धेरै जसो पूर्वाधारको काम सकिएको छ । अब अस्पताल क्यान्टिन, डाक्टर निवास र कर्मचारी क्वाटर बनाउने काम भइरहेको छ । ट्रमा सेन्टरको भवन निर्माणका लागि भ्याटबाहेक १९ करोड ४१ लाखमा २०७७ साल चैत २४ गते ठेक्का सम्झौता भएको थियो । ट्रमा सेन्टर निर्माणको काम २०७८ वैशाख १ गतेदेखि सुरु भएको थियो ।
तर, सम्झौताअनुसार निर्माणका लागि जग्गा खाली गराउने, त्यसपछि कोरोना संक्रमण र निर्माणस्थलमा भएका रुख डिभिजन वन कार्यालयले व्यवस्थापनमा ढिलाइ गर्दा ट्रमा सेन्टर निर्माणको काममा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि तामाङ बताउँछन् । वनसँगको विवादका कारण लामो सयमसम्म निर्माणमा समस्या भए पनि अहिले कामले गति लिएको उनको भनाइ छ । निर्माणको कामले गतिलिँदा भवन निर्माणको काम करिब अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि तामाङले बताए ।
उनका अनुसार चार तलाको ट्रमा सेन्टर निर्माणको काम सकिएको र अहिले डाक्टर निवास, नर्सिङ निवास, चमेना गृहसहित शौचालय निर्माणको काम भइरहेको छ । कोहलपुर–लमही–बुटवलसम्मको दूरी तीन सय किलोमिटरभन्दा बढी छ । यो बीचमा सवारी दुर्घटना भई हालेमा घाइतेको अहिले पनि समयमा उपचार सम्भव छैन । घाइतेको उद्धार गरी कोहलुर वा बुटवल पुर्याउँदा हुने ढिलाइले धेरैको ज्यान जाने गरेको छ । यसैलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारले दाङको लमहीमा प्रदेशस्तरीय ट्रमा सेन्टर निर्माण अघि बढाएको हो ।
पूर्व–पश्चिम राजमार्ग केन्द्रित दुर्घटनाका घाइतेको उपचारमा सहज बनाउने लक्ष्यका साथ लमही नगरपालिका–४ मा तत्कालीन कृषि उपज संकलन तथा बिक्री केन्द्र परिसरमा ट्रमा सेन्टर निर्माण भइरहेको छ । ट्रमा सेन्टर निर्माण भएपछि हाडजोर्नी विशेषज्ञ डाक्टर, न्यूरो सर्जन, जनरल सर्जन, एनेस्थेसियासहित नर्सिङ र पारामेडिक्स टिम कार्यरत रहने व्यवस्था गरिएको छ । ट्रमा सेन्टर निर्माण गर्दा माघ तेस्रो सातासम्म १४ करोड ९८ लाख रुपैयाँ खर्च भएको सहरी विकास तथा भवन कार्यालय दाङले जनाएको छ ।