Logo

निकासी ऐनमा समेटियो ‘एटीए कार्नेट’

काठमाडौं– अन्तर्राष्ट्रिय व्यापार मेलामा लैजाने सामानको व्यवस्थापनका निमित्त व्यवसायीहरुले वर्षौंदेखि माग गरिरहेको ‘एटीए कार्नेट’ सम्बन्धी व्यवस्था सम्बोधन हुने भएको छ ।

सरकारले प्रतिनिधि सभामा दर्ता गराएको निकासी पैठारी (नियमन) विधेयक, २०८१ मा यस्तो समस्याको सम्बोधन गरिएको हो । भन्सार क्षेत्रमा कररहित ढुवानी सुविधा भनिने एटीए कार्नेट (एडमिसन टेम्पोरायर) उल्लेख नगरी यसका सुविधाहरु सम्बोधन गर्ने प्रयास प्रस्तावित विधेयकमा गरिएको छ ।

उद्योग मन्त्रालयले प्रतिनिधि सभामा दर्ता गरेको यो विधेयक संसदीय प्रक्रिया पूरा गरी दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिबाट ऐनको रुपमा जारी हुनेछ । यसका लागि केही समय लाग्ने भए पनि विधेयकमा गरिएको व्यवस्थाबाट निजी क्षेत्र खुसी देखिएको छ ।

विधेयकमा ‘मेला वा प्रदर्शनीको लागि निकासी वा पैठारी गर्न सकिने’ व्यवस्था गरिएको छ । यसअनुसार स्वदेश वा विदेशमा आयोजना हुने औद्योगिक वा व्यापारिक मेला वा प्रदर्शनीको लागि कुनै वस्तु निकासी वा पैठारी गर्नुपरेमा उद्योग विभागले प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको सिफारिसमा त्यस्तो वस्तु निकासी वा पैठारी गर्न अनुमति दिन सक्ने उल्लेख छ । नेपालबाट अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुने र नेपालमा हुने मेलामा सहभागी हुने बाह्य व्यवसायी दुवै यसबाट लाभान्वित हुनेछन् ।

‘औद्योगिक वा व्यापारिक मेला वा प्रदर्शनीको लागि कुनै वस्तु निकासी वा पैठारी गरेकोमा त्यस्तो वस्तु बिक्री नभई बाँकी रहन गएमा विभागले त्यसरी बाँकी रहेको वस्तुको निकासी वा पैठारी गर्न अनुमति दिन सक्नेछ,’ विधेयकमा भनिएको छ । यसअघि यससम्बन्धी कुनै कानुन नहुँदा विदेशमा हुने मेलामा सहभागी नेपाली व्यवसायीहरुले बिक्री नभएको सामान कम मूल्यमा उतै छाडेर फर्कनु परिरहेको अवस्था थियो । यस्तै, नेपालमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा पनि कानुन अभावकै कारण विदेशका ठूला व्यवसायीहरुले सहभागिता जनाउन आनाकानी गर्ने गरेका छन् ।

नेपालमा हालसम्म कुनै पनि ऐनमा यससम्बन्धी व्यवस्था नरहेका कारण सरकारी अधिकारीहरुको विवेक र तजबिजीका भरमा त्यस्ता सामानहरु फिर्ता पठाइने गरिएको थियो । अन्तर्राष्ट्रिय मेलामा सहभागी हुने नेपाली व्यवसायीहरुले भने बहुमूल्य सामग्री पनि कम नाफामै बिक्री गरी फर्कने गरेका थिए भने केहीले अर्को मेलाका लागि उतै थन्क्याउने गरेका थिए । निकासी पैठारी व्यवसायमा संलग्न व्यवसायी महेश्वर श्रेष्ठ ऐनमा गरिएको यो व्यवस्थाले नेपालको निकासी व्यापारमा टेवा पुर्‍याउने बताउँछन् । ‘हामीले वर्षौंदेखि यो व्यवस्थाको माग गरिरहँदा बल्ल सम्बोधन भएको छ,’ उनले भने, ‘विदेशमा हुने मेलामा हामीले अधिकतम सहभागिता जनाएर नै निकासी बढाउन सक्छौं र त्यस्ता मेलामा नमुनासहित केही सामान बिक्री गर्न सकियो र बिक्री नभएका वस्तुको पनि सहज व्यवस्थापन गर्न सकियो भने फलदायी हुन्छ ।’

के हो एटीए कार्नेट ?
निकासी पैठारीको सहजीकरणका लागि यो व्यवस्थालाई अन्तर्राष्ट्रिय स्तरमा एटीए कार्नेट भनिन्छ । एटीए कार्नेट एक अन्तर्राष्ट्रिय भन्सार कागजात हो, जसले कुनै पनि वस्तुलाई भन्सार कर वा अन्य कर तिरी अस्थायी रूपमा अर्को देशमा लैजान अनुमति दिन्छ । अर्थात् अस्थायी आयात र निर्यातको लागि यो सुविधा उपलब्ध हुन्छ । एकै कागजातले धेरै देश यात्रा गर्न सकिने सुविधासहित सामान्यतया वस्तुहरू एक वर्षसम्म राख्न सकिने सुविधा हुँदा यो व्यापार मेला, प्रदर्शनी, एक्स्पो, व्यावसायिक उपकरण, वा सांस्कृतिक तथा खेलकुद सामग्री लैजान उपयुक्त मानिन्छ ।

कुनै वस्तु बेच्न नभई अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनी, व्यापार मेला वा अस्थायी प्रयोगका लागि अर्को देशमा लैजानुपर्दा सामान्य निर्यातआयात प्रक्रियामा भन्सार शुल्क लाग्न सक्छ । तर, एटीए कार्नेट प्रयोग गर्दा यी शुल्कमा छुट पाइन्छ । संसारका ८० भन्दा बढी देशमा यो मान्य भए पनि नेपालमा भने हालसम्म लागु भएको छैन । सम्बन्धित देशका चेम्बर अफ कमर्स वा भन्सार निकायबाट जारी हुने यो सुविधा लिन धरौटी भने राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्