Logo

यो वर्ष हिउँदमा परेन पानी, हिउँदे बालीको उत्पादन पाँच प्रतिशतसम्म घट्ने

काठमाडौं– जलवायु परिवर्तनका कारण अहिलेसम्म पानी नपरेपछि हिउँदे बालीको उत्पादनमा पाँच प्रतिशतसम्म गिरावट आउने देखिएको छ ।

हिउँदे बालीमध्ये मुख्यगरी गहुँ, जौ, आलुलगायत वस्तुको उत्पादन घट्ने देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष अहिलेसम्म पानी नपरेका कारण हिउँदे बालीको उत्पादन पाँच प्रतिशत घट्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका तथ्यांक शाखा प्रमुख रामकृष्ण रेग्मीले यो वर्ष सुक्खा हिउँदका कारण आलु, गहुँ, जौलगायत बालीको उत्पादन गत वर्षको तुलनामा ५ प्रतिशतले घट्ने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार हिउँदमा पानी नपर्दा आलु बाली, गहुँ र जौ उत्पादन घट्नेछ । स्वदेशमा उत्पादन घट्दा यी वस्तुको आयात बढ्नेछ ।

‘जलवायु परिवर्तन वा अन्य कारणले यो वर्षको हिउँदमा अहिलेसम्म पानी परेको छैन,’ रेग्मीले कारोबारसँग आइतबार भने ‘खेतीयोग्य सबै जमिनमा सिँचाइको सुविधा पुगेको छैन । पानी नपर्ने र सिँचाइको सुविधा नहुनुले उत्पादनमा कमी आउनु स्वाभाविक छ ।’ मन्त्रालयले गरेको प्रारम्भिक अनुसन्धानबाट हिउँदे बालीमा ५ प्रतिशतसम्म उत्पादन घट्न सक्ने देखिएको उनले बताए ।

वर्षौंदेखि सिँचाइ सुविधाको अभाव भएकाले किसान आकाशे खेती गर्नुपर्ने बाध्यतामा रहेको उनले बताए । यो वर्ष धेरैजस्तो पहाडी र तराईका केही जिल्लामा सुक्खा बढी देखिएको रेग्मीको भनाइ छ । मुलुकमा कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुगेको क्षेत्रफल धेरै छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कृषियोग्य जमिनको क्षेत्रफल ३५ लाख ५७ हजार ७ सय हेक्टर छ । यसमध्ये सिँचाइयोग्य क्षेत्रफल २५ लाख ३६ हजार हेक्टर छ । तर, सरकारले १५ लाख ६९ हजार ३२ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ पुर्‍याएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा २८ करोड ७१ लाख मूल्यबराबरको गहुँ र जौ ५ सय ९५३ टन आयात भएको छ । यस्तै, ५ अर्ब ४९ करोड मूल्यबराबरको २ लाख १७ हजार ६१९ टन आलु आयात भएको छ ।

कृषि मन्त्रालयका अनुसार आव २०७९–८० मा ६ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ टन गहुँ उत्पादन भएको छ । यसैगरी जौ १७ हजार ५३६ हेक्टर क्षेत्रफलमा २५ हजार ९१२ टन उत्पादन भएको थियो । यस्तै, आलु गत वर्ष २० लाख ३ हजार ८१२ हेक्टर क्षेत्रफलमा ३४ लाख ८७ हजार ८१६ टन उत्पादन भएको थियो । स्वदेशी मागअनुसार गहुँको उत्पादन नहुँदा गत आर्थिक वर्षमा ६८ करोड मूल्यको १० हजार १ सय १२ टन गहुँजन्य वस्तुको आयात भएको थियो । यो वर्ष पानी नपर्दा उत्पादन घटेर अझै गहुँको आयात बढ्ने देखिएको छ । आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब १६ करोड १६ लाख लाख मूल्यबराबरको २४ हजार ७ सय ८५ टन गहुँ आायत भएको थियो ।

मन्त्रालयको तथ्यांकअनुसार नेपालको पश्चिम तराई र पहाडका जिल्लाहरूमा गहुँ खेती धेरै गरिन्छ । आर्थिक वर्ष २०७८–८९ मा ७ लाख १६ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ४४ हजार टन गहुँ उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष २०७७–७८ मा ७ लाख ११ हजार हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार टन गहुँ उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७६–७७ मा ७ लाख ७ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ८५ हजार टन उत्पादन गहुँ उत्पादन भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्