Logo

मन्त्री भण्डारीद्वारा नर्मदेश्वर महोत्सव उद्घाटन

‘विकास र आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्छ’

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विकास र वास्तविक आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने धारणा राखेका छन् । ओखलढुङ्गाको लिखु गाउँपालिका–३ मा आयोजित ऐतिहासिक नर्मदेश्वर महोत्सवको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर विनियोजन गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले नेपाली उत्पादनको बजार विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधारहरू गर्दै अघि बढेको उल्लेख गरे । मन्त्री भण्डारीले पुराना काम अधुरै छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने र अधुरा परियोजनालाई पूर्ण दिनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । न्याय र सामाजिक समानताको प्रत्याभूतिसहित नागरिकलाई न्याय र सामाजिक समानताको प्रत्याभूति दिन शासकीय निकायले स्पष्ट परिणाम निकाल्नुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

मन्त्री भण्डारीले नेपालको आर्थिक उन्नतिका लागि आन्तरिक र बाह्य लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लगायत विदेशी अनुदानहरूमा सरकारको निर्भरता घटाउँदै आफ्नै स्रोत र साधनबाट राष्ट्र समृद्ध बनाउने लक्ष्य लिनुपर्ने मन्त्री भण्डारीको भनाइ छ । नेपालमा उत्पादित रातो मासु तथा कृषिजन्य वस्तुहरूको निर्यात बढाउन बिपा सम्झौताका आधारमा कार्य अघि बढाइने उनले बताए ।

नेपाललाई आर्थिक रूपमा बलियो बनाउने अभियानमा नीति, योजना र लगानीको सही संयोजन आवश्यक रहेको मन्त्री भण्डारीले उल्लेख गरे । ओखलढुङ्गाको विकासका लागि प्रदेश र संघ सरकारका तर्फबाट आवश्यक पर्ने बजेट विनियोजन गरिने उनले प्रतिबद्धता जनाए ।

मन्त्री भण्डारीले गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले मन्त्रालयसमक्ष लिखुको स्थानीय उद्योग स्थापनाबारे केही प्रस्ताव ल्याएको भन्दै त्यसमा काम गर्ने बताए । उनले स्थानीयस्तरमा उद्योग स्थापना गरेर पहिलो उपभोग स्थानीय सरकारमार्फत नै गर्नेगरी सरकारले सघाउने आश्वासन समेत दिए ।

कार्यक्रममा पूर्व सांसद यज्ञराज सुनुवार, गाउँपालिका अध्यक्ष अशोक कार्की, उपाध्यक्ष अस्मिता थापा, कोशी प्रदेशका पूर्व सांसद मोहन खड्का, वडा नम्बर ३ का वडाध्यक्ष सोकर्ण श्रेष्ठलगायतले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो व्यक्त गरे ।

”पूर्वाधार तथा पर्यटन विकासका लागि नर्मदेश्वर महोत्सव” भन्ने मूल नारासहित आयोजित महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्