चितवनमा ६० करोड लगानीमा मुलुककै ठूलो रिसोर्ट एन्ड फनपार्क «

चितवनमा ६० करोड लगानीमा मुलुककै ठूलो रिसोर्ट एन्ड फनपार्क

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चितवनको भरतपुर नगरपालिकामा कविलास रिसोर्ट एन्ड फनपार्क सञ्चालनमा आएको छ । ६० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको सो रिसोर्टले नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुग्ने विश्वास लिएको छ ।
मुग्लिनबाट नारायणघाट जाने बाटोमा दासढुंगा कट्ने बित्तिकै राजमार्गको देब्रेपट्टी ६ सय मिटर उकालो चढेपछि रिसोर्ट पुगिन्छ । साथै जुगेडीबाट रिसोर्टको बाटो तय गर्नेका लागि ३.५ किमी यात्रा गरे पुग्छ । कुल २५ बिघा मुलुकमा सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको फनपार्कलाई सबैभन्दा ठूलो फनपार्क भएको दाबी गरिएको छ ।
कम्पनीका अध्यक्ष बाबुराम उपाध्यायले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइएको र यस अवसरमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिए । “२५ बिघा क्षेत्रफलमा रिसोर्ट र फनपार्क सञ्चालनमा गरेका छौं, जसमा फनपार्क, वाटर पार्क, स्वीमिङ पुलसँगै ७ वटा पारिवारिक भिल्लासमेत छ,” उपाध्यायले भने ।
२५ बिघा क्षेत्रफलमध्ये पूर्वाधार बाहेकका क्षेत्रफलमा अग्र्यानिक खेती गरिएको छ । त्यहीको अग्र्यानिक तरकारी रिसोर्टमा प्रयोग हुन्छ भने त्यही कुखुरा र खसी पनि पालिएको उपाध्यायले जानकारी दिए ।
रिसोर्टमा विभिन्न सेमिनारलगायतका कार्यक्रम गर्न मिल्नुका साथै, विवाह तथा पिनकिन गर्न पनि सकिने उपाध्यायले बताए । रिसोर्टमा २ सय जनालाई बस्न लजिङको व्यवस्था छ भने ७ वटा पारिवारिक भिल्ला, ४ वटा सेमिनार हल समेतको पूर्वाधार विकास गरिएको छ ।
जसमा ग्राहकको मागअनुसार मनोरञ्जनका लागि साँस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ । रिसोर्टबाट टाँडी, नारायणगढ, देवघाट, गैँडाकोट, कावासोती आदिका ठाउँको रमाइलो हेर्न सकिन्छ भने त्यहाँबाट ग्राहकहरूले नजिकका पर्यटकीय क्षेत्रमा जानका लागि गाडीको व्यवस्था पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्