१५ शैयाको अस्पताल अलपत्र

बाजुरा– बाजुराको बूढीगंगा नगरपालिकामा निर्माण हुन लागेको १५ शैया अस्पताल भवन अलपत्र परेको छ । सम्पन्न गर्ने मिति सकिन ६ महिनामात्रै बाँकी रहँदा अस्पतालको जगसमेत हाल्ने काम भएको छैन ।
अस्पतालको केही फाउन्डेसन खनेर निर्माण कार्य अलपत्र रहेको बूढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले बताए । ठेकेदारले तीन करोड बढी रकम लिइसकेको छ काम भने अस्तव्यस्त बनाएको स्वास्थ्य शाखा प्रमुख शाहको भनाइ छ । पटकपटक नगरपालिकामा भवन निर्माण पहल चाँडो गर्न आग्रह गरे पनि काम भने हुन नसकेको शाहले बताए ।
नगरपालिकाले १९ करोड ४७ लाखमा ठेक्का लगाएको थियो । स्काई निशान अधिकारी जेभीले १३ करोड दुई लाखमा काम गर्नेगरी सम्झौता भएको थियो । पालिका र निर्माण कम्पनीबीच २०७८ कात्तिक २३ गते सम्झौता भएको थियो । २०८१ भदौ २० गते काम सम्पन्न गर्ने रहेको थियो । काम सम्पन्न मिति सकिनै लाग्दा २० प्रतिशत पनि काम नभएको स्थानीयले बताएका छन् ।
नगरपालिकाले पुन: कम्पनीलाई काम गर्ने म्याद थप गरेको छ । ठेकेदारले दुई करोड ६० लाख पेश्की लिएको छ भने काम गरेवापत ७२ लाख रुपैयाँ गरी तीन करोड ३२ लाख पालिकाबाट भुक्तानी लिइसकेको नगरपालिकाका प्राविधिकले बताउँछन् । तर काम भने १० प्रतिशत पनि नभएको प्राविधिकको भनाइ छ ।
नगरपालिकामा निर्माण हुन लागेको अस्पताल एक त जोखिम ठाउँमा छ, अर्को ठेकेदारले काम नगर्दा समस्या भएको स्थानीयले बताए । अहिले निर्माण भइरहेको ठाउँ पहिरो जाने तथा भिरालो ठाउँ छ । अस्पताल निर्माण हुन लागेको माथि भागमा रहेका चार परिवार विस्थापित भइसकेका छन् । पालिकाका एक प्राविधिकले भने अस्पताल निर्माणका लागि डीपीआर नै गलत ठाउँमा भएको बताउँछन् ।
अस्पतालको फाउन्डेसन खन्दै माथितिर पहिरो जाने सम्भावना भएपछि चार परिवार विस्थापित भएको नगरप्रमुख रामबहादुर बानियाँले बताए । पछिल्लो समय ठेकेदारको कमजोरीका कारण भवन निर्माण अलपत्र रहेको नगरप्रमुख बानियाँको दाबी छ । केपी ओली प्रधानमन्त्री हुँदा एक पालिका एक अस्पतालको सुरुवातअन्तर्गत बूढीगंगा नगरपालिकामा पनि अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो ।
निर्माण हुन लागेको अस्पताल उपयुक्त ठाउँमा नभएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । सम्भावित ठाउँ अन्यत्र भए पनि त्यो बेला पालिकाले मनोमानी रूपमा जोखिम ठाउँमा अस्पताल बनाउन लागेको स्थानीयको आरोप छ । सँगै निर्माण सुरु भएको जगन्नाथ गाउँपालिकामा १५ शैया अस्पताल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको छ । जिल्लाकै गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकाको चुथीमा पनि १० शैया अस्पताल निर्माणको अन्तिम चरणमा छ ।