दक्षिण कोरियाको निर्यात ४ प्रतिशतले बढ्यो

फेब्रुअरीमा दक्षिण कोरियाको निर्यातमा ४ प्रतिशतले वृद्धि भएको छ । यद्यपि लुनार नयाँ वर्षको विदाका कारण वृद्धि भने मन्द भएको सरकारी तथ्यांकले देखाएको छ ।
उक्त एक महिनाको अवधिमा बाह्य मुलुकमा गरिएको निर्यात ४४.८८ अर्ब डलर पुगेको छ । यो अघिल्लो वर्ष को समान महिनाको ४३.१६ अर्ब डलरको दाजोमा बढी भएको व्यापार मन्त्रालयले संकलन गरेको तथ्यांकले देखाएको छ ।
निर्यात लगातार १६ औं महिनामा पनि वृद्धि भएको छ । तर दक्षिण कोरियामा उक्त महिना ४ दिन बिदा परृकाले वृद्धि दर भने कम भएको छ । चीनमा पनि लुनार नयाँ वर्ष परेकाले दक्षिण कोरियाको निर्यात कम भएको हो । चीन दक्षिण कोरियाकै ठूलो निर्यात गन्तव्य हो ।
वार्षिक मापनका आधारमा आयातमा पनि १४.८ प्रतिशतको वृद्धि भई ४१.५७ अर्ब डलर कायम भएको छ ।
दक्षिण कोरियाको व्यापार बचत ३.३१ अर्ब डलर कायम भएको छ । आयातको तुलनामा निर्यात बढी भएको यो लगातार ७३ औं महिना भएको मन्त्रालयले जनाएको छ ।
“कम काम गर्ने दिन भए बावजुद फेब्रुअरीमा दक्षिण कोरियाको निर्यात उकालो लागेको छ,” मन्त्रालयले जनाएको छ । “मेमोरी चिप्सको मजबुत माग र पेट्रोलियम उत्पादनको मुल्यमा भएको वृद्धिले निर्यात वृद्धि उकालो लागेको हो,”मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेमिकन्डक्टरको निर्यातमा ४०.८ प्रतिशतको वृद्धि भएको छ । उच्च मूल्यको मेमोरी चिप्स र स्टोरेज डिभाइसको उल्लेख्य बिक्रीका कारण सेमिकन्डक्टरको निर्यात उकालो लागेको हो । तेलको मूल्यमा भएको वृद्धिले बिक्री मूल्य उकालो लागेपछि पेट्रोलियम उत्पादन बिक्रीमा १५.८ प्रतिशतको ठोस वृद्धि भएको छ ।
अमेरिकी बिक्रीमा आएको कमीका कारण अटोमोबाइलको बिक्रीमा भने १४.४ प्रतिशतको गिरावट आएको छ । कमजोर चिनियाँ मागका कारण स्टिलको बिक्रीमा ९.७ प्रतिशतको गिरावट आएको छ ।
मुलुकका आधारमा चीनमा भएको निर्यात ३.७ प्रतिशतले वृद्धि भई ११.५३ अर्ब डलर कायम भएको छ । फेब्रुअरीमा चीनमा भएको निर्यात वृद्धि लगातार १६ औं महिनामा हो ।
अमेरिका गरिएको निर्यातमा १०.७ प्रतिशतको गिरावट आएको छ । अटो र वायरलेस सञ्चार उपकरणको न्यून बिक्रीका कारण अमेरिका गरिएको निर्यात पनि ओरालो लागेको हो । फेब्रुअरीमा दक्षिण अमेरिकासँग दक्षिण कोरियाको व्यापार बचतमा ७६.९ प्रतिशतले गिरावट आएको पनि मन्त्रालयले जनाएको छ ।
विश्वव्यापी अर्थतन्त्रमा आएको सुधार र प्रमुख निर्यातीत बस्तुको उच्च बिक्री मूल्यका कारण कोरियाली निर्यातकर्ताका लागि सकारात्मक वातावरणको सिर्जना हुन सक्छ । तर प्रमुख अर्थतन्त्रमा देखा परेको बढ्दो संरक्षणवाद र यो वर्ष अमेरिकी व्याज दरमा हुन सक्ने सम्भावित वृद्धिका कारण सावधानीको अवस्था रहने बताइएको छ ।