१३ हजार २५ टन तोरी उत्पादन वृद्धि

दाङ– जिल्लामा गत वर्षभन्दा यस वर्ष तोरी उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष तोरीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लामा तोरीखेती गर्ने किसानको संख्या तथा क्षेत्रफलसमेत बढ्दा उत्पादन पनि बढेको हो । कृषि ज्ञान केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पीताम्वर बस्नेतका अनुसार जिल्लामा तोरी उत्पादन वृद्धि भएको हो ।
गत वर्ष २०८०/०८१ मा जिल्लामा १६ हजार ४१० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । त्यसबाट १८ हजार ५४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको अधिकृत बस्नेतले बताए । उत्पादकत्व १ दशमलव १३ रहेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १६ हजार ६१५ हेक्टरमा तोरीखेती भएको थियो । यस वर्ष ३१ हजार ५६८ दशमलव ५ मेट्रिक टन तोरी उत्पादन भएको अधिकृत बस्नेतले बताए ।
गत वर्षभन्दा यस वर्ष २ सय ५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ । भने यस वर्ष तोरीको उत्पादन १३ हजार २५ दशमलव २ मेट्रिकटन तोरी उत्पादन वृद्धि भएको उनको भनाइ छ । गत वर्षभन्दा यस वर्ष तोरीको उत्पादन वृद्धि ६८.१४ प्रतिशत रहेको छ । तोरीको उन्नत जातको बीउ प्रयोग तथा सल्फरको प्रयोग गरिएका कारण उत्पादन वृद्धि भएको अधिकृत बस्नेत बताउँछन् । तोरी बालीका लागि सलफरको एकदमै आवश्यक पर्ने उनको भनाइ छ ।
जिल्लाको सबै क्षेत्रमा तोरीखेती हुँदै आएको छ । प्राय: देउखुरी, पश्चिम क्षेत्र तथा घोराही क्षेत्रमा तोरीखेती हुने गरेकोे छ । तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । ‘छोटो समयमा राम्रो अम्दानी लिन सकिने भएका कारण कृषको आकर्षण बढेको छ,’ अधिकृत बस्नेतले भने, ‘बजारमा तोरीको मागसमेत राम्रो छ ।’ तीन महिनामा तोरी तयार हुने उनी बताउँछन् । देउखुरीमा मकै लगाउने क्षेत्रमा समेत तोरी लगाएको अधिकृत बस्नेतले बताए । दाङको तोरीको माग धेरै हुने गरेको छ ।
दाङको तोरीको माग काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज लगायतका जिल्लामा धेरै रहेको उनले बताए । ‘पहिलेदेखि नै दाङको तोरीको माग बाहिरी जिल्लाबाट धेरै हुने गरेको छ,’ अधिकृत बस्नेतले भने । सहज रूपमा बिक्री भएमा कृषकको आकर्षण बढ्दै जाने उनको भनाइ छ । ‘उत्पादन भएको तोरी कुनै पनि कृषकलाई बजारको समयस्या नभएको कारणले पनि कृषकको संख्या तथा क्षेत्रफल बढेको हो,’ अधिकृत बस्नेतले भने ।
तोरीखेतीलाई जंगली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर, बबई र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको संख्या धेरै रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।
कृषि ज्ञान केन्द्र दाङमार्फत बाली वस्तु विशेष सघन ब्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रमअन्तर्गत यस वर्ष ९० हेक्टर क्षेत्रफलका लागि पाँच क्विन्टल उन्नत तोरीको बीउ किसानलाई वितरण गरिएको अधिकृत बस्नेत बताउँछन् । उक्त बीउ घोराही–७ घुस्रा र शान्तिनगर गाउँपालिका–१ र २ का किसानलाई वितरण गरिएको थियो । तोरीको बीउसँग कृषकलाई तालिम र आवश्यक पर्ने सामग्री पनि प्रदान गरिएको थियो । ‘कृषकहरूलाई प्रविधि, सचेतना तालिमजस्ता कारणले पनि उत्पादनमा प्रभाव परेको छ,’ अधिकृत बस्नेतले भने ।
उत्पादन वृद्धिपछि मूल्य घटयो
जिल्लामा गत वर्षको तुलनामा तोरीको मूल्य घटेको छ । गत वर्ष प्रतिक्विन्टल १८ हजार रुपैयाँमा कृषकले तोरी बिक्री गरेका थिए भने यस वर्ष प्रतिक्विन्टल १४ हजारमा बिक्री गरेको गरेको पाइएको अधिकृत बस्नेत बताउँछन् । कतिपयले १२ हजार रुपैयाँ क्विन्टलमा पनि बिक्री गरेको कृषकले बताएका छन् । उत्पादन बढेकाले मूल्य अझै घटने कृषकहरू बताउँछन् । गोभी तोरी आएपछि अझै सस्तो हुने गरेको छ ।