बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिँदै

पर्वत– बाँझो रहेको जमिन सदुपयोग गर्नका लागि बागलुङको तित्याङमा धमाधम ओखरखेती विस्तार गरिएको छ । बसाइँ सराइका कारण खेतीयोग्य जग्गा बाझिँदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा झण्डै तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ । बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूल खेती गर्न नगरपालिकाले गत वर्षदेखि स्थानीयलाई प्रेरित गर्न थालेको हो ।
बागलुङ नगरपालिकाका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाध्यक्ष राजु थापाले जानकारी दिए । तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत १० लाख र स्थानीयको आठ लाख लगानीमा दुई हजार २५० ओखरका बिरुवा १४० रोपनी जग्गामा लगाइएकोमा यस वर्ष नगरपालिकाको १२ लाख र स्थानीयको आठ लाख गरी २० लाखमा जुरेढुंगा क्षेत्रको १४० रोपनी जग्गामा १५ सय ओखरका बिरुवा लगाउन थालिएको वडाध्यक्ष थापाले बताए ।
थापाका अनुसार यस वर्ष २० लाखबाट बिरुवा खरिद, रोपण, सिंँचाइ पोखरी निर्माण गर्ने र मलखात निर्माण गर्ने लगायतको काम भइरहेको छ । जुरेढुंगाका कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जग्गामा व्यावसायिक ओखरखेती थालिएको छ । सिँंचाइ अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूल खेती राम्रो हुने भएकाले कुकाठ हटाउँदै, बाँझो जग्गा सदुपयोग गर्दै सुक्खा फलफूल खेती गर्न थालिएको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।
स्थानीय किसानको जग्गा एकीकृत गरेर ओखरखेती गर्न १४० रोपनी जमिनमा ओखरखेती गर्ने तयारी गरेपछि नगरपालिकाले बिरुवा वितरण गरेको खड्काको भनाइ छ । पछिल्लो समय बसाइँ सराइले गाउँबस्ती रित्तिँदै गएपछि किसानले उजाडिएको बारी र जंगल फाँडेर ओखरखेती विस्तार भइरहेको जुरेढुंगा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताए ।
१६ सय मिटरदेखि तीन हजार मिटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा पनि लगाउन सकिने भएकाले जुम्लाबाट झिकाइएको बागलुङ नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिइन् । प्रतिबिरुवा ३२० रुपैयाँ पर्ने ओखरको बिरुवाको माग बढिरहेको बरुवालले बताइन् ।
जुरेढुंगाका किसानले परम्परागत रूपमा गर्दै आएको खेतीको सट्टा सामूहिक रूपमा ओखरखेती गर्न थालेका छन् । जुरेढुंगा कृषक समूहलाई १५ सय बिरुवा हस्तान्तरण गरेपछि यस वर्षको ओखरखेती विस्तार सुरु भएको छ । स्थानीयको मागका कारण थिनसेल जातका बिरुवा डोल्पादेखि खरिद गरी हस्तान्तरण गरिएको उपप्रमुख खड्काले बताए । ९ नम्बर वडाका किसानले सुन्तला र तरकारीसंँगै ओखरखेतीलाई उच्च प्राथमिकता दिएकाले आगामी वर्ष पनि ओखरका थप बिरुवा वितरण गरिने बताए ।
ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाइन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटिएसिड हुन्छ जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ । ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।