Logo

साढे ४६ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– मुलुकको आन्तरिक अर्थतन्त्रमा खासै सुधार नदेखिए पनि निर्यात व्यापार साढे ४६ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको सात महिना अर्थात् माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको छ । गत आवको यसै अवधिको तुलनामा निर्यात व्यापार ४६.४९ प्रतिशतले बढी हो । गत वर्ष माघसम्म ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार निर्यातसँगै आयात बढ्दा कुल व्यापार घाटा पनि यो वर्ष ६.२० प्रतिशतले बढेको छ । माघसम्ममा ८ खर्ब ६१ अर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा पुगेको छ । यस वर्ष कुल वैदेशिक व्यापारमा आयातको हिस्सा २.८३ प्रतिशतले कम हुँदा निर्यातको हिस्सा २९.३० प्रतिशतले बढेको छ । अहिले १ सय रुपैयाँबराबरको कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.४० रुपैयाँमा उक्लिएको तथ्यांक छ ।

तीन वर्षअघि वार्षिक २ खर्ब निकासी पूरा गरेको नेपालले अघिल्ला दुई आर्थिक वर्षमा भने निराशाजनक व्यापार गरेको थियो । विभागको तथ्यांकअनुसार आव २०७९–८० मा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको नेपालले गत आवमा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँबराबरको निर्यात पुगेको थियो । चालु आवको पहिलो ७ महिनाको निर्यात व्याापारको प्रवृत्ति हेर्दा यो वर्ष फेरि २ खर्बभन्दा बढी निकासी हुने सम्भावना देखिएको छ ।

निर्यात र आयात दुवै सुधार भएको यस वर्ष कुल वैदेशिक व्यापारको आकारसमेत बढेर ११ खर्ब माथि पुगेको छ । माघसम्म ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँबराबर कुल व्यापार भएको छ । गत आवको यसै अवधिमा ९ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको थियो । यस वर्ष १३.३० प्रतिशतले आकार बढेको छ । व्यापार घाटा ८ खर्ब ६१ अर्ब रुपैयाँबराबर देखिन्छ ।

विभागको तथ्यांकअनुसार माघ महिनामा २८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । पुस मसान्तसम्म कुल निर्यात ९८ अर्ब ७८ करोड रहेकोमा माघमा यो १ खर्ब २७ अर्बमा उक्लिएको हो । यसरी निर्यातले फड्को मार्नुमा सोयाबिन तेलको ठूलो भूमिका देखिन्छ । भारतले नेपालबाट वनस्पति तेल आयात सहज बनाएसँगै अहिले नेपालबाट हुने निर्यातमा उत्साहजनक वृद्धि देखिन्छ । माघ मसान्तसम्म ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँबराबरको सोयाबिन तेल निर्यात भएको छ, जुन बढी निर्यात भएका वस्तुको पहिलो नम्बरमा छ ।

दोस्रो नम्बरमा सूर्यमुखी तेलको बिउ तथा तेल निर्यात भएको देखिन्छ । यसको परिमाण ६ अर्ब ५७ करोड रुपैयाँबराबर छ । तेस्रो नम्बरमा कार्पेट रहेको छ, जुन ६ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको छ । चौथो नम्बरमा अलैंची निर्यात भएको छ । ५ अर्ब ३९ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांक छ । पुस मसान्तसम्म सोयाबिन तेलको निर्यात १८ अर्ब ९१ करोडबराबरको निर्यात भएकोमा एक महिनाकै अवधिमा यसको निर्यात झन्डै १४ अर्ब रुपैयाँभन्दा धेरैले बढेको देखिन्छ । यसको प्रभाव समग्र निर्यात व्यापारमा देखिएको छ ।

गत वर्षको माघसम्म वनस्पति तेल धेरै निर्यात हुने सूचीको प्रथम पाँचभित्र पाम आयलमात्र थियो, जुन ३ अर्ब १५ करोड रुपैयाँबराबरको मात्र निर्यात भएको देखिन्छ । भारतले अन्तर्राष्ट्रिय बजारबाट आयात हुने वनस्पति तेलमा भन्सार थप गरी महँगो बनाएको छ । तर, नेपालबाट साफ्टा सुविधा अन्तर्गत शून्य भन्सार दरमा भारत निर्यात हुन्छ । यसको फाइदा नेपाली निर्यातकर्ताहरूले उठाएका छन् ।

भन्सार विभागका अनुसार निर्यातसँगै माघसम्म ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यो आँकडा गत आवको यसै अवधिको तुलनामा १०.०९ प्रतिशत धेरै हो । गत आवको माघसम्म ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । यस वर्ष ७ महिनामा सबैभन्दा धेरै रकम तिरेर डिजेल आयात भएको देखिन्छ । निर्यात र आयात दुवै सुधार भएको यो वर्ष कुल वैदेशिक व्यापारको आकारसमेत बढेर ११ खर्ब माथि पुगेको छ । डिजेल आयातमा ६६ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । दोस्रो नम्बरमा कच्चा सोयाबिन तेल रहेको छ ।

नेपालमा तेस्रो मुलुकबाट कच्चा वनस्पति तेल ल्याई भारत निर्यात गरिन्छ । सोहीकारण यस अवधिमा ३८ अर्ब २९ करोड रुपैयाँको कच्चा सोयाबिन तेल आयात भएको छ । तेस्रो नम्बरमा पेट्रोल छ । पेट्रोल आयातमा ३७ अर्ब ६४ करोड रुपैयाँ विदेशिएको देखिन्छ । खाना पकाउने ग्यास आयातमा ३५ अर्ब ४७ करोड रुपैयाँ विदेशिएको छ । समग्रमा पेट्रोलियम पदार्थको आयातमा ७ महिनाको अवधिमा १ खर्ब ७६ अर्ब रुपैयाँ विदेशिएको छ । फलाम तथा स्टीलको आयातमा ८० अर्ब ६६ करोड विदेशिएको छ । पशुजन्य तथा वनस्पति तेल र घिउ आयातमा ६६ अर्ब २० करोड विदेशिएको तथ्यांक छ ।

विद्युतीय मेसिन तथा त्यसको पार्टपुर्जामा ६५ अर्ब ४० करोड विदेशिएको छ । सवारीसाधन आयातमा ५५ अर्ब २१ करोड रुपैयाँ विदेशिएको भन्सार विभागको तथ्यांक छ । निर्यात व्यापारमा आएको वृद्धिले उत्साह थपिएको नेपाल उद्योग वाणिज्य महासंघका निर्यात प्रवद्र्धन समिति उपसभापति पशुपतिदेव पाण्डे बताउँछन् । उनका अनुसार सरकार पनि आर्थिक समृद्धिको एजेन्डामा फोकस भएको र अध्यादेशबाट भए पनि व्यावसायिक वातावरण बनाउन खोजेको देखिन्छ । व्यावसायिक वातावरण सुधार गरेर जान सकिएमा गलैंचा, पश्चिना, तयारी पोशाक लगायतको निर्यात अझ बढ्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्