Logo

धार्मिक पर्यटनको धरोहर अर्जुनधारा क्षेत्र

अर्जुनधारा नगरपालिका कोसी प्रदेशको झापा जिल्लाको मध्यउत्तरमा अवस्थित छ । सदरमुकाम भद्रपुरदेखि २३ किमि उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउँपालिका र मेची नगरपालिका छ भने पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माई नगरपालिका रहेका छन् । त्यस्तै दक्षिणमा बिर्तामोड नगरपालिका पर्छ भने उत्तरमा इलामको रोङ्ग गाउँपालिका रहेको छ ।

नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थलहरूमध्ये झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दू धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिरपरिचित अर्जुनधारा यी तीनै स्थान पूर्ववत् गाउँ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्संरचनापछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटी २०७० सालमा शनिअर्जुन नगरपालिका र २०७३ को अन्तिम स्थानीय पुनर्संरचनापछि खुदुनाबारी गाविसलाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामकरण गरिएको छ ।

स्थानीय जानकारहरूका अनुसार शनिश्चरे बजारको स्थापना १ सय वर्षभन्दा पुरानो छ । त्यसबेला यातायातको कुनै साधन नभएका बखतसमेत यो बजार हालको मेची अञ्चलको व्यापारिक केन्द्रका रूपमा स्थापित थियो । यहाँबाट तीन दिनको बाटो भएर इलाम, पाँचथर, ताप्लेजुङ साथै कोसीको तेह्रथुमसम्मका मानिसहरू यस बजारमा नुन, मटीतेल, सखर, नरिवल, सुपारीजस्ता तराईमा पाइने तथा भारतीय सामग्रीहरू लिएर व्यापार–व्यवसाय गर्ने गरेका थिए । मेची अञ्चललाई जोड्ने हालको मेची राजमार्ग नहुँदा बिर्तामोडबाट शनिश्चरे, खुदुनाबारी, दानाबारी हुँदै इलाम पुग्ने सबैभन्दा छोटो बाटो भएकाले समेत यो बजारलाई दैनिक उपभोग्य सामानका लागि चल्तीको बजारका रूपमा हेरिन्थ्यो । बजार क्षेत्रमा हालसम्म पनि पुराना व्यापारीहरू विद्यमान रहेको र पुस्तौँ पुस्तासम्म व्यापार–व्यवसाय सञ्चालन गरिरहेका छन् ।

शनिबारको दिन अझै पनि हाटबजार लाग्ने गरेको र झापाकै पहिलो खसीबाख्रा बजार पनि यही बजारअन्तर्गत रहेको छ । शनिबार लाग्ने बजारको नामबाट नै नगरपालिका हुनुभन्दा अघि शनिश्चरे गाविसको नामले परिचित थियो भने महाभारतकालमा पाण्डवहरू लुकेर यिनै स्थानमा गुप्तवास बसेका र दुर्याेधनलगायत कौरवहरूले उक्त कुरा पत्ता लगाई पाण्डवहरूको गुप्तवास भंग गर्न विराट राजाका ९ लाख गाई हरण गरी लगेको तथा कौरवहरूले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई गोरुवा हुँदै गरुवा भएको बताइन्छ, जुन स्थान हाल इलाम जिल्लाको दानाबारीमा पर्छ । हरण गरेर लगेका गाई कौरव पक्षले गौहटी (हाल आसाम राज्यको गुहाटी) पुर्‍याएका थिए र पाण्डव पक्षका वीर योद्धा बृहन्नला (नपुंसक) को रूपमा लुकेर बसेका अर्जुनले लुटिएका गाई कौरवसँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान् शिवको आराधना गरी जमिनमा प्रर्जन्य अस्त्रले पानी निकाली गौमातालाई खुवाएको स्थानका रूपमा अर्जुनधारालाई लिइन्छ ।

यसरी द्वापरयुगमा विराट राजाको गाई कौरवहरूले हरण गरे । राजाकोमा गुप्तवास बसेका अर्जुनको सहायताले गाईहरू खोजियो । अर्जुनले वाण हानी पानी निकालेर तिर्खाएका गाईलाई खुवाइयो भन्ने किंवदन्ती छ । यसरी तिर्खाएका गाईलाई पानी खुवाउनका लागि पानी निकालिएको धारा अर्जुनधारा, गाई हरण भएको क्षेत्र गरुवा, लुकाइएको ठाउँ लुकानी, खोजी गरिएको बारी खोजीबारी र नै आजको गरुवा, सुखानी, खुदुनाबारी र अर्जुनधारा नामकरण भयो भन्ने तथ्य रहेको जनविश्वास पाइन्छ ।

ऊष्ण मनसुनी हावापानी भएको यस नगरपालिका तराई, भावर, दुन र चुरे पर्वतका फेदमा अवस्थित छ । अर्जुनधारा नगरपालिकाभित्र विविध जातजाति तथा धार्मिक समुदायका मानिसहरूको बसोबास रहेकाले यो नगरपालिका सांस्कृतिक तथा पारम्पारिक विविधताले सजिएको छ । यहाँ हिन्दू, किराँत, बौद्ध, इस्लाम, इसाई, मुसलमान, प्रकृति, मानवधर्मलगायतका विभिन्न धर्म मान्ने समुदायको बसोबास रहेको छ । यस पालिकाभित्र हिन्दूहरूको महान् चाड दसैँ, तिहारलगायत तीज, कुशेऔँसी, नागपञ्चमी, जनैपूर्णिमा, रामनवमी, श्रीपञ्चमी, कृष्ण जन्माष्टमी, आमाको मुख हेर्ने दिन, महाशिवरात्रि, फागुपूर्णिमा आदि मनाइन्छ । त्यस्तै तमु ल्होसार, तोल ल्होसार, सोनाम ल्होसार, गाल्बो ल्होसार, बंकर इद, क्रिसमस, उद्यौली साकेला, चासोक तङ्नाम आदि विभिन्न चाडपर्व मनाइन्छ ।

अर्जुनधारा धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिकोणले भरिपूर्ण र समृद्ध क्षेत्र हो । यहाँका प्रमुख पर्यटकीय स्थलहरू अर्जुनधारा धाम, सुखानी सहिद स्मृति पार्क, सालवाडी, साधुटार, सुखानी साहदत्त स्थल, भुटानी शरणार्थी शिविर स्थल, फन वल्र्ड, शनिश्चरे बजार आदि हुन् ।

अर्जुनधारा धामलाई पूर्वको पशुपतिनाथ भनेर समेत चिनिन्छ । यस धामका शिव मन्दिर, विष्णु मन्दिर र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ । खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्ण जन्माष्टमी, माघे संक्रान्ति आदि अनेक पर्वमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ । अर्जुनधारा धाममा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्छ, जुन अवसरमा देशभित्र र भारतबाट समेत हजारौँ भक्तजन आउने गर्छन् । अर्जुनधारा परिसरभित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन रभ्ने पोखरीको बीचमा अर्जुनले गाईलाई पानी खुवाइरहेको मूर्ति स्थापित गरिएको छ ।

सातकुने उक्त पोखरीको दक्षिणतर्फ पञ्चधातुबाट निर्मित पाँचवटा धारा छन्, जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका माछाहरू पाइन्छन् । त्यस्तै, धाम परिसरभित्र विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धार्मिक कार्यक्रम वाचन तथा श्रोताकक्ष आदिको स्थापना गरिएको पाइन्छ । साथै, यहाँ संस्कृत विद्यालय, गुरुकुल शिक्षा तथा देव विद्यापीठ स्थापना गरिएको छ । अर्जुनधारा धाममा पुग्न झापा जिल्लाको बिर्तामोडबाट लगभग ५ किमि उत्तरमा शनिश्चरे बजारबाट पश्चिमतर्फ करिब ६ मिनेट हिँड्नुपर्छ । विभिन्न धार्मिक स्थल, विविध जातजाति र उनीहरूको मौलिक कला–संस्कृति तथा प्राकृतिक सम्पदाले सजिएको अर्जुनधारा नगरपालिकामा पर्यटन प्रवद्र्धन गर्न सकिने ठूलो सम्भावना रहेको छ ।

देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । त्यस्तै देशमा रहेको बेरोजगारीको समस्या समाधान गर्नका लागि कृषि तथा पर्यटन व्यवसायलाई प्रवद्र्धन र विकास गर्न अति आवश्यक छ ।

अर्जुनधारा नगरपालिका धार्मिक, प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र धार्मिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । विभिन्न धार्मिक तथा पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको सोचेअनुसार पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी पर्यटकहरूको आगमनमा वृद्धि हुन सक्नेछ ।

अर्जुनधारा नगरपालिकाभित्र पर्यटकीय सम्भावना बोकेका स्थलहरू विभिन्न क्षेत्रमा छरिएर रहेका छन् । नगरपालिकाको बसपार्क क्षेत्रभन्दा बाहिर साना चिया तथा खाजा र दिवासेवा उपलब्ध गराउने सामान्य होटलहरूबाहेक ठूला होटल, लज तथा रेस्टुरेन्टहरूको विकास भएको छैन । पर्यटनको विकासका लागि होटल, लज तथा रेस्टुरेन्टहरूको भूमिका गहन हुनाले यस नगरपालिकाभित्र पर्यटकीय क्षेत्र विकासका लागि निजी लगानी बढाउन आवश्यक छ । साथै, नगरपालिका, निजी लगानीकर्ता र स्थानीय समुदायको साझेदारीमा लगानी बढाई स्थानीय मौलिक परम्परा, धार्मिक महत्व र प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटनको विकास गर्न सक्ने सम्भावना छ । त्यस्तै अर्जुनधारा नगरपालिकाभित्र र छिमेकी स्थानीय निकायभित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रलाई अन्तरपालिका साझेदारीमा पर्यटकीय सर्किटको रूपमा विकास गरी प्याकेजिङको रूपमा पर्यटन सेवा प्रदान गर्न सकिन्छ ।

अतः नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी कृषि तथा पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यक छ । कृषि तथा पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाएर गरिबी न्यूनीकरण गर्दै अर्जुनधारा नगरपालिकालगायत देशभित्रका मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्