Logo

गड्यौलाबाट प्राङगारिक मल उत्पादन

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा गड्यौलाबाट प्राङगारिक मल उत्पादन सुरु गरिएको छ । त्रिवेणी टोल विपद् व्यवस्थापन समितिले गड्यौलाबाट प्राङ्गारिक मल उत्पादन गरेको हो । त्रिवेणी टोल विपद् व्यवस्थापन समितिका अध्यक्ष सरस्वती चन्द (सिंह)ले गाँउमा रसायनमुक्त कृषिका लागि प्राङ्गारिक मल उत्पादन गरिएको बताइन् ।

‘अन्नबालीमा रसायनयुक्त मलको प्रयोगले मानव स्वास्थ्यमा समेत असर परेको छ, ‘उनले भनिन्, ‘त्यही भएर हामीले गड्यौला पालेर प्राङ्गारिक मल उत्पादन गरिरहेका छौं ।’ बागफाँटामा गाईपालनका लागि खोर निर्माणसँगै उत्पादन गरिएको जैविक मल स्थानीयस्तरदेखि माग भएका अन्य स्थानमा बिक्री वितरण गरिने अध्यक्ष चन्दले बताइन् ।

गत असोजमा जैविक मल उत्पादनकै लागि त्रिवोणी धाममा गौशाला निर्माणको कार्य सुरुवात गरिएको थियो । सिद्ध वैजनाथ त्रिवेणी धामका अध्यक्ष मिलन सिंहले छाडा पशु चौपयाको व्यवस्थापनसहित जैविक मल उत्पादन गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै मानव स्वास्थ्यका लागि रसायनमुक्त खेतबारी बनाउने अभियान रहेको बताए ।

उनका अनुसार भीमदत्त नगरपालिका स्थानीय सरकार र निड्स नेपालको सहयोगमा गड्यौला मल उत्पादन सुरु गरिएको छ । मल उत्पादन सुरु भइरहेको बताउँदै उनले अहिले नै १० क्विन्टलको अर्डर आएको जानकारी दिए । तरकारीलगायत अन्य अन्नबालीको उत्पादन वृद्धिका लागि समेत प्राङ्गारिक मल अत्यन्तै उपयोगी भएको उनले बताए । ‘यो हाम्रो योजना बहुउपयोगी छ, उनले भने, ‘यसबाट किसानदेखि व्यवसायी सबैलाई लाभै लाभ हुन्छ ।’

निड्स नेपाल स्कोट आर ३ परियोजना संयोजक ईश्वर उपाध्यायले गड्यौलाबाट जैविक मल उत्पादनका लागि ८ लाख बराबरको आर्थिक सहयोग एवम् प्राविधिक सहयोग गरेको बताए । विपद् जोखिम रहेका बस्तीका स्थानीयको जीवनस्तर वृद्धि एवम् स्थानीयस्तरमै रहेका स्रोत साधानको उपभोग गरेर आत्मनिर्भर बनाउन सहयोग गरेको उनले बताए ।

गत असोज दोस्रो साता भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले गौशालाको शिलान्यास गर्दै छाडा पशु चौपाया नियन्त्रण गरेर गाई पालनदेखि जैविक मल उत्पादनका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताएकी थिइन् । शनिबार एक कार्यक्रमका बीच स्थानीय, निड्स नेपालसहितका सरोकारवालाले निड्स नेपालद्वारा सञ्चालित एवम् सहयोग गरिएका कार्यक्रमको स्थलगत अनुगमन गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले गौशालाको स्थलगत अनुगमन गर्दै स्थानीय स्तरबाटै कृषिका कार्यक्रममा अग्रसरता देखाउँदै स्वदेशमै सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन् । चौधर नदी नियन्त्रणका लागि प्रजिअ सापकोटाले सम्बन्धीत सरोकारवालासँग छलफल गरेर समयमै तटबन्ध निर्माण गर्दै विपद्बाट जोगाउने वचनसमेत दिएका छन् । भीमदत्त नगरपालिका-१३ पिपरैयाको रामानुज महिला सशक्तिकरण केन्द्रमार्फत तरकारी खेती, ड्रागन खेतीसहित दोधारा चाँदनीमा सञ्चालित योजनाको स्थलगत अनुगमन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्