सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता न्यून

काठमाडौं– नेपाली महिलाहरूको सूचना तथा प्रविधिका क्षेत्रमा सहभागिता, नेतृत्व र संलग्नता न्यून रहेको एक अध्ययनले देखाएको छ । सूचना प्रविधिमा महिला (डव्लुआईआईटी) ले गरेको यस अध्ययनमा महिलाहरूको सहभागिता आइसीटीमा एकदमै कम रहेको तथा निर्णायक तहमा उनीहरूको हिस्सा कमजोर रहेको देखाएको हो ।
आइसीटी क्षेत्रमा महिलाहरूको अवस्थाबारे विस्तृत विश्लेषण गर्दै, हालका चुनौतीहरू पहिचान गर्न र समाधान सुझाउन यो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको संस्थाका अध्यक्ष गुणकेशरी प्रधानले बताइन् । उनका अनुसार देशभर ४ सय २ आइसीटी कम्पनी, ४ सय आइसीटी सम्बद्ध कम्पनी र ४ सय ३० महिला आइसीटी पेशा अपनाएका व्यक्तिहरूमा गरिएको सर्वेक्षणबाट संकलित तथ्यांकका आधारमा अध्ययन सम्पन्न गरिएको छ ।
साथै, ८ वटा फोकस ग्रुप डिस्कसन र ८ वटा प्रमुख सूचना सन्दर्भबाट गुणात्मक तथ्यांक संकलन गरिएको छ । संस्थाले महिला, किशोरीहरू तथा बालबालिकामा सूचना प्रविधिको पहुँच पुर्याउने, तालिम गोष्ठी, प्रतियोगितालगायतमा कार्यक्रमहरू गर्दै आएकोे अध्यक्ष प्रधानले बताइन् । अनुसन्धानले आइसीटी क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व ज्यादै न्यून रूपमा रहेको देखाएको छ ।
आइसीटी कम्पनीहरूमा महिलाहरूको संख्यात्मक अनुपात विशेषगरी प्राविधिक भूमिकामा केवल ७.८८ प्रतिशत रहेको छ । त्यस्तै, आइसीटी–सक्षम कम्पनीहरूमा मात्र ०.५१ प्रतिशत महिलाहरू संलग्न छन् । नेतृत्व तहमा पनि महिलाहरूको उपस्थितिमा कमी देखिएको छ । जहाँ आइसीटी क्षेत्रमा कार्यरत महिलामध्ये मात्र १९.५५ प्रतिशतले व्यवस्थापकीय वा कार्यकारी पदमा अवसर पाएका अध्ययनले देखाएको छ ।
अध्ययनले महिलाहरूले सामना गर्नुपर्ने प्रमुख समस्याहरूमा भर्ना प्रक्रिया र बढुवामा अचेत पूर्वाग्रह, सीमित परामर्श अवसरहरू, वित्तीय बाधाहरू, र कार्य–जीवन सन्तुलनको अभाव रहेका छन् । यद्यपि पुरुष र महिलाबीचको तलब विभाजन भने तुलनात्मक रूपमा न्यून देखिएको छ । सर्वेक्षण गरिएका ८७.९ प्रतिशत महिलाहरूले पुरुष सहकर्मीहरू तलबमानमा पनि फरक रहेको बताएका छन् । अनुसन्धानले महिलाहरूले आइसीटी क्षेत्रमा विशिष्ट प्रतिस्पर्धात्मक लाभ प्रदान गरिरहेको देखाएको छ ।
महिलाहरूको नैतिक पेशागत क्षमता ९८.३ प्रतिशत, प्रभावकारी ग्राहक सम्बन्ध ९५.७ प्रतिशत र नवप्रवर्तनशील सोच ८७.१ प्रतिशतका लागि उच्च मूल्यांकन गरिएको छ । इन्टर्नशिप, परामर्श कार्यक्रम, तालिम र कार्यशालाहरूमा सहभागी भई व्यावसायिक अनुभव प्राप्त गर्ने अवसर दिनुपर्ने सुझाव अध्ययनले प्रस्तुत गरेको छ । त्यसैगरी कार्यस्थलमा विविधता र समावेशितालाई प्रवर्द्धन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, र महिलाहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्नेुपर्ने व्यवस्था गर्न संस्थालाई सुझाव दिएको छ ।
त्यसैगरी छात्रवृत्ति, व्यावसायिक तालिम, लचिलो श्रम नीति, र समावेशिता प्रवर्द्धन गर्ने कानुनी संरचना विकास गर्नेुपर्ने सुझाव सरकारलाई दिएको छ । अनुसन्धानले नेपालमा आइसीटी क्षेत्र विस्तार भइरहे पनि महिलाहरूको सहभागिता अझै न्यून रहेको देखाएको छ । आइसीटी क्षेत्रलाई लैंगिक रूपमा समावेशी बनाउन नीति निर्माण तहमा ठोस पहल आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले राजनीतिक रूपमा संविधानले नै ३३ प्रतिशत आरक्षण बाध्यकारी व्यवस्था गरेको सो क्षेत्रमा महिला सहभागिता बढी भए पनि अन्य क्षेत्रमा पहुँच पुग्न बाँकी रहेको बताइन् । सूचना प्रविधिमा महिलाहरू कुनै आरक्षण विना नै अग्रसर भई सहभागी हुने आफैँमा राम्रो पक्ष भएकोले अवको युग सूचना प्रविधितर्फ जाने हुँदा भविष्य सहभागिता बढ्ने उनको अनुमान छ ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उद्यम व्यवसाय गर्नका लािग राज्यले सुविधा दिएको भन्दै ती सुविधा लिन आफैं जागरुक हुनुपर्नेमा जोड दिए । महिलाहरू अनौपचारिक क्षेत्रमा बढी भएको उल्लेख गर्दै सरकारले नीतिगत रूपमा औपचारिक रूपमा ल्याउन पहल गरेको पनि उनको भनाइ थियो ।
त्यसैगरी काठमाडौं महानगरका उपमेयर सुनिता डंगोलले पनि सूचना प्रविधिमा महिलाहरूको संख्या न्युन भए पनि केही सुरुवात भएकोले सकारात्मक बन्न आग्रह गरिन् । नेपालमा नीतिगत व्यवस्था गर्नका लागि डेटा अभाव भएको भन्दै यस अध्ययनले भोलीका दिनमा कार्यक्रम बनाउन सहयोग पुग्ने र महानगरले महिलाको क्षमता विकासमा जोड दिने बताइन् ।