राष्ट्रिय घर निर्माण फेस्ट २०८१ आयोजना हुँदै

काठमाडौं– नेपाल स्किल सेवाले पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) आयोजना गर्ने भएको छ । फागुन १५ देखि १७ गतेसम्म राष्ट्रिय घर निर्माण फेस्ट २०८१ हुने भएको हो । नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उद्देश्यका साथ हुन गइरहेको यो महोत्सव निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गर्ने अभूतपूर्व अवसरको रूपमा रहने बताइएको छ ।
पत्रकार सम्मेलन गर्दै स्किल सेवाले महोत्सवको प्रमुख उद्देश्य नागरिकहरूलाई घर निर्माण सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु रहेको जनाएको छ । महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जन समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
जसमा विभिन्न निर्माण सम्बन्धित कम्पनीहरू र बैंकको स्टल रहने कम्पनीले जनाएको छ । महोत्सवले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापनमार्फत घर निर्माणका नवीनतम अवधारणाहरूलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार यस कार्यक्रममार्फत कम्पनीले घर निर्माण गर्दा खर्च कम गर्ने उयायहरूको बारेमा बताउने छ ।
जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डि, ग्लास, टायल्स प्रयोग गर्ने पनि सिकाइने छ । साथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङगुलर निर्माण योजना, निर्माण अवधिदेखि फ्लोलिङ्ग र समापन सम्मको स्टेप–बाइ–स्टेप जानकारी दिइने छ । प्रदर्शनीमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुती हुनेछ । यसका अतिरिक्त, लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर गरिने कम्पनीको भनाइ छ ।
जसले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ । यस कार्यक्रमबाट लाभ उठाउन आह्वान गर्दै कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष रमेश तिमिल्सिनाले भने, ‘हरेक व्यक्तिको लागि आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो त्यसैले यस सम्पत्तिलाई भरपर्दो, सुरक्षित र दिगो बनाउनु अत्यावश्यक छ ।’ जसमा करिब पाँच हजारभन्दा बढीको सहभागिता हुने आकलन गरिएको कम्पनीले जनाएको छ ।