Logo

नुप्चे-लिखू जलविद्युत आयोजनाको प्रगति ८५ प्रतिशत

६ महिनामा विद्युत उत्पादनको लक्ष्य

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे-लिखू जलविद्युत आयोजनाको प्रगति ८५ प्रतिशत भएको छ । यो आयोजना नेपालकै उच्च हिमाली क्षेत्रमा निर्माणाधीन आयोजना हो । ३३ सय ५० मिटर उचाइमा रहेको लिखू र नुप्चे खोलाको पानी जम्मा गरेर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माणाधीन यो आयोजनामा हिउँदमा हिउँ र तुसारो जम्ने ठाउँमा पर्छ ।

वर्षात्मा सडक विच्छेद् हुनेलगायतका कारण यहाँ ६ महिना पनि राम्रो काम गर्न कठिन हुने ठाउँमा पर्छ । यति कठिन नुम्बुर हिमालकै फेदमा निर्माणाधीन आयोजनाको सुरुङ छिचोलिएपछि अब सुरुङ लाइनिङ, सर्किटको काम दुईतिरबाट सुरु गरिएको छ । मुख्य सुरुङको अब ५५० मिटरमात्रै छिचोल्न बाँकी छ । त्यो पनि आउँदो जेठमा पूरा लक्ष्य लक्ष्य राखेको छ ।

लिखू खोला र नुप्चे खोलाको पानीलाई मिसाएर नुप्चे-लिखू जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ २०७८ असोजदेखि आयोजना निर्माणाधीन छ । २०७४ सालमा कम्पनी दर्ता गरेर अध्ययन सुरु गरेको आयोजना कम्पनी दर्तादेखि आठ वर्षभित्रै निर्माण पूरा हुँदैछ । आयोजना आगामी ६ महिना अर्थात् २०८२ भित्रै व्यावसायिक उत्पादन सुरु गर्ने गरी काम गरिरहेको नुप्चे-लिखू जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन इनर्जी एण्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष टिएन आचार्यले जानकारी दिए ।

आयोजनाको लागि कुल ७४ सय ४६ मिटर सुरुङ निर्माण गर्नुपर्छ । हालसम्म ६८ सय ९० मिटर सुरुङ खनिएको छ । आयोजनाका लागि पूर्वतिरबाट लिखू खोला र पश्चिमतिर नुप्चे खोलाको पानी फर्काएर सुरुङ र पेनस्टक पाइपमार्फत लिखू खोला र नुप्चे खोलाको दोभाननजिक झारेर विद्युत उत्पादन हुनेछ । दुवै खोलाको पानी फर्काउन लिखू खोलाको हेडवक्र्सको काम पूरा भएको छ । नुप्चे खोलामा पनि हेडवक्र्सको काम अन्तिम चरणमा पुगेको छ ।

हेडवक्र्सको सिभिलतर्फको काम पूरा भएकाले अब गेट राख्ने काममात्रै बाँकी छ । दुवै खोलाको हेडवक्र्समा रहेको बालुवा थिग्रयाउने पोखरीबाट पाँच सय मिटर जति पेनस्टक पाइपबाट पानी ल्याएपछि सुरुङमा हालिन्छ । सुरुङको अन्तिम विन्दुबाट पुन: पेनस्टक पाइपबाट पानी झारेर विद्युतगृहसम्म पानी ल्याइन्छ । सुरुङभित्र र बाहिर गरी ४५१ मिटर पेनस्टक पाइप जोड्नु पर्छ । पाइप जोड्नका लागि अब चार सय मिटरमात्रै बाँकी रहेको भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले जानकारी दिए ।

विद्युतगृह भवन तयारी र रङरोगन पनि भइसकेको छ । हाइड्रोमेकानिकलका गेट, पाइप, इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकलका जेनेरेटर, टर्बाइन, ट्रान्सफर्मर लगायतका सामान आयोजनास्थलमा ढुवानी पूरा गरी धमाधम जडान हुँदैछन् । विद्युतगृहमा उत्पादन हुने ५७.५ मेगावाट विद्युत प्रवाहका लागि २४ किलोमिटर १३२ केभीको गर्जाङ सबस्टेसनसम्म प्रसारणलाइन पनि निर्माणाधीन छ । ७८ वटा टावर उठाउनु पर्नेमा ५४ वटा टावरको जग तयार गरी टावरको जगसम्मको काम पूरा भएको छ ।

१२ वटा टावर उठाइसकेको छ । अब केही समयपछि तार तान्ने काम पनि सुरु हुने महाप्रबन्धक अधिकारीले बताए । नुप्चे लिखू जलविद्युत आयोजना ३३५० मिटर उचाइमा रहेको नुम्बुर हिमालको फेदमा रहेको छ । यो आयोजना उच्च हिमाली क्षेत्रमा निर्माण भएका संसारका थोरै जलविद्युत आयोजनामध्ये पर्ने उच्च हेड भएको आयोजना हो । आयोजनाको खुद हेड एक हजार पाँच मिटर रहेको छ । उच्च हिमाली क्षेत्रमा निर्माणाधिन आयोजना भएकाले अतिचिसो मौसममा काम गर्न कठिन छ ।

दुईतिरको खोला फर्काउनु पर्ने भएकाले दुवैतिर सडक बनेका छन् । आयोजनाले आन्तरिक रूपमा ४० किलोमिटर सडक नयाँ तयार गरेको छ । शिवालयदेखि आयोजनास्थलका सडक नियमित मर्मतसंहार गर्दै आएको छ । आयोजनास्थलसम्म पुग्ने लिखू खोलामा पक्कि पुल र आयोजना क्षेत्रमा नुप्चे खोलामा दुईवटा बेलिब्रिज निर्माण गरेको छ । आयोजना निर्माणका लागि ३३ केभी प्रसारणलाइन लैजादा लछेवार गाउँमा विद्युतीकरण भएको छ । आयोजनाको लागत १० अबर ९८ करोड रहेको छ ।

आयोजनाको विद्युतगृह सतही छ भने विद्युत उत्पादन गर्न तीनवटा टर्बाइन रहेको छ । आयोजनाबाट कुल ३८१.७३५ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाको सिभिलतर्फ सुनाम इफ्रास्टक्चर निर्माण प्रालिले गर्दैछ । त्यसैगरी प्रसारण लाइनको पाँचपोखरी कन्स्ट्क्सन प्रालिले, हाइड्रोमेकानिकलको वक्सप इन्जिनियरिङ एण्ड सप्लायर्स र इलेक्ट्रोमेकानिलतर्फ भ्वाइट हाइड्रो भारतले काम गर्दै आएको छ । आयोजनाको परामर्शदाताको रूपमा ईआई माविन प्रालिले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्