Logo

बल्ल बिक्यो हेटौंडा सिमेन्टको रोपवे उपकरण

हेटौंडा– दुई दशक अघिदेखि बन्द भएर थन्किएको हेटौंडा सिमेन्ट उद्योगको रोपवे उपकरण लामो प्रयासपछि बिक्री भएको छ । २०७० सालयता पटकपटक प्रयास गर्दा पनि बिक्री नभएको रोपवेको उपकरण अन्ततः सवा चार करोड रुपैयाँमा लिलाम बिक्री भएको हो ।

रोपवे उपकरण बिक्रीका लागि सिमेन्ट उद्योगले न्यूनतम मूल्यांकन तोकेर बढाबढमा ठेक्का आह्वान गरेको थियो । दुईवटा कम्पनीले खरिदका लागि प्रस्ताव पेश गरेकोमा बढी रकम कबुल गर्ने बाराको लिपनीस्थित पिएस एण्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख रुपैयाँमा रोपवे उपकरण बिक्रीको सम्झौता गरिएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिए ।

उद्योगलाई तीन किस्तामा रकम उपलब्ध गराउने गरी दुई महिनाअघि सम्झौता भएकोमा दुई किस्ताको रकम प्राप्त भइसकेको उद्योगले जनाएको छ । ९ महिनाभित्र रोपवेका सामग्री झिकिसक्ने सम्झौता गरिएकोमा हाल सामग्री संकलन भइरहेको छ । ‘रोपवेका बकेट, तारहरु र अन्य उपकरण निकाल्दा हुन सक्ने सम्भावित दुर्घटना जोखिमको बहन गर्न तेस्रो पक्ष बीमा पनि गर्नुपर्ने सम्झौता भएकोमा खरिदकर्ताले बीमासमेत गरी उपकरण निकाल्ने काम भइरहेको छ,’ सूचना अधिकारी आचार्यले भने । उनका अनुसार तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमतिअनुसार उद्योगलाई पहिलो र दोस्रो किस्ताबापतको करिब २ करोड ८५ लाख रुपैयाँ प्राप्त भएको छ ।

सरकारी स्वामित्वको उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुंगा ढुवानी गर्न रोपवे निर्माण गरेको थियो । ११ किलोमिटर लामो रोपवे २०६१ सालदेखि बन्द भएको थियो । २०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो । तत्कालीन समयमा करिब ८ करोडको लगानीमा निर्माण भएको रोपवेको आवश्यक मर्मतका लागि उद्योगले चासो नदिँदा बन्द भएको थियो ।
लामो समयदेखि बन्द अवस्थामा रहेको रोपवेको सामग्री बिक्रीका लागि उद्योगले २०७० सालयता पटकैपिच्छे मूल्य घटाउँदै आधा दर्जनपटक सूचना प्रकाशित गरिरहे पनि खरिदकर्ताले खरिदमा चासो देखाएका थिएनन् ।

प्रयोगविहीन रोपवे करोडौं खर्च गरेर मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि उद्योगले हटाउने योजना बनाएको थियो । उद्योगले करिब एकदशकअघि पहिलोपटक जारी गरेको सूचनामा रोपवे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम मूल्य ६ करोड १६ लाख कायम गरेको थियो । खरिदकर्ताको अनिच्छापछि उद्योगले ४ करोड ६१ लाखमा मूल्य झार्दा पनि बिक्री भएको थिएन । पछिल्लो समय टावर, स्टेशन, सवस्टेशन भत्कने, क्यारियरहरु पनि झर्ने गरिरहेका थिए । प्रतिघण्टा ३ सय मेट्रिक टन चुनढुंगा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर) रहेकोमा बिग्रिएर करिब दुई दर्जनभन्दा बढी बकेट झरिसकेका छन् ।

पछिल्ला वर्षहरुमा सिमेन्ट उद्योग घाटामा रहेको छ । उद्योगको वर्तमान दायित्व करिब ७० करोडभन्दा बढी रहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए । रोपवे बिक्रीबाट प्राप्त रकमले उद्योगको दायित्व रकम घटाउने योजना रहेको उनले बताए । आर्थिक अभावकै कारण कच्चा पदार्थ कोइला आपूर्ति गर्नसमेत समस्या हुन थालेपछि विभिन्न समस्या देखाउँदै उद्योग करिब ४ महिनादेखि बन्द छ ।

प्रतिक्रिया दिनुहोस्