३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता

काठमाडौं– ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता भएको छ । सोमबार आयोजनाको प्रवद्र्धक एटलस इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौताअनुसार मध्य घुन्सा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन २२०/१३२ केभी हाङ्गपाङ्ग सब–स्टेसनमा जोडिने कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए । त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्नेछ ।
त्यसमा १३२/२२० केभिएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत प्रवाह गर्नेछ । ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन २०२६ मा निर्माण सुरू गरी सन २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए ।
ग्रसहेड १५८ मिटर रहेको आयोजनाको डिजाइन डिस्चार्ज २२.६ छ । ३ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने आयोजनाको १७५० मिटर टनेल र २५० मिटर पेनस्टक पाइप रहनेछ । आयोजनाको विद्युत गृह अर्धभूमिगत रहनेछ भने विद्युतगृहमा १५.१२ मेगावाट क्षमताका २ वटा टर्बाइन रहनेछन् । आयोजनाले वार्षिक रूपमा १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।