दोलखा महोत्सव सुरु, सुस्ताएको आर्थिक गतिविधि चलायमान हुने अपेक्षा

दोलखा – दोलखामा मंगलबारदेखि १३ दिने बृहत दोलखा महोत्सव सुरु भएको छ । सदरमुकाम चरिकोटस्थित टुँडिखेलमा सुरु भएको तेस्रो वृहत महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरे । त्यसअघि विभिन्न सांस्कृतिक झाँकीसहितको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरी टुँडिखेल रंगशाला पुगेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री लामाले आर्थिक गतिविधि चलायमान गर्न र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । आर्थिक गतिविधि बढाउन पर्यटन प्रवर्द्धन हुनु पर्ने भन्दै पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसारमा प्रदेश सरकारले काम गरिरहेको उनले बताए । पर्यटकका लागि अवरोधका रुपमा रहेको सडक, खेलमैदानमा प्रदेश सरकारले लगानी गरेको उनको भनाइ छ ।
दोलखा उद्योग बाणिज्य संघको आयोजनामा भइरहेको महोत्सव १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवले आन्तरिक उत्पादनको प्रवर्द्धनका साथै जिल्लाको सुस्ताउँदो व्यापार व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको संघका पूर्वअध्यक्ष रामेश्वर मानन्धरले जानकारी दिए । महोत्सवमा १४० वटा स्टल राखिएकोमा स्थानीय उद्यमीको ६२ वटा स्टल छुट्याइएको संघले जनाएको छ ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जिल्लाको कृषि, उद्यम उत्पादनलाई प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धनमा महोत्सवले टेवा पुर्याउने विश्वास व्यक्त गरे । जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै जिल्लाका स्थानीय उत्पादनको प्रदर्शन गरी प्रचार प्रसार तथा बिक्री वितरण गरिने, धार्मिक तथा पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । स्थानीय उत्पादनको प्रदर्शनीका लागि स्टलहरु प्राथमिकता दिएको उनले बताए ।