नुवाकोटमा लसुनखेती गर्दै चिनियाँ नागरिक

धादिङ– नेपाली युवा कृषि छाडेर विदेशी भूमिमा रोजगारी गर्न गइरहेका बेला चिनियाँ नागरिक भने नेपालमा कृषिखेती गर्न आएका छन् । चीनका व्यवसायीहरू समूह बनाएर नुवाकोटमा कृषि क्षेत्रमा लगानी गरिरहेका छन् । चिनियाँ व्यवसायीले नेपाली उपभोक्तालाई लक्षित गरी नेपालमा कृषि उत्पादनमा सम्भावना देखेर लाखौं लगानी गर्न थालेका छन् ।
दुई वर्षअघि झापामा लसुनखेती सुरू गरेर व्यावसायिक उत्पादन सफल भएपछि हौसिएको चिनियाँ समूहले नुवाकोटको लिखु–१ मा करिब डेढ सय रोपनी खेत भाडामा लिएर लसुनखेती सुरू गरेका हुन् । लिखु–१ का वडाध्यक्ष नरहरि पाण्डेका अनुसार चिनियाँ टोलीले ६ महिनाको प्रतिरोपनी १५ हजार दिने गरी पिप्ले, चार सय फाँट र लब्धुफाँटमा १४८ रोपनी जग्गा भाडामा लिएका छन् ।
स्थानीय कृषक र चिनियाँ लगानीकर्ताबीच वडा कार्यालयमा जग्गा भाडाको सम्झौता गरिएको वडाध्यक्ष पाण्डेले बताए । नुवाकोटमा उत्पादित लसुन नेपाललाई बढी भएपछि चीन र भारत निर्यात गर्ने योजना रहेको दोभासे रसुवा निवासी उर्केन घलेले बताए । यस वर्ष परीक्षणका रूपमा लिखुमा लसुनखेती सुरु गरिएको हो । राम्रो भए अर्को वर्ष धेरै क्षेत्रमा लगाउने योजना रहेको उनले बताए । नेपालमा लसुन, प्याज र छ्यापीखेती प्राचीनकालमा चीनबाट नै बीउ ल्याएर सुरू गरिएको इतिहासमा उल्लेख छ ।
गाउँघरमा युवा विदेसिने क्रमसँगै खेतबारी बाँझो रहन थालिरहेको अवस्थामा विदेशीले नै निर्यात गर्ने उद्देश्यले जग्गा भाडामा लिएर खेती सुरु गर्दा स्थानीयबासीलाई कृषिकर्ममा लाग्न उत्प्रेरणा र हौसला मिल्ने नारायणदेवी बहुउद्देश्यीय सहकारी संस्था लिखु–१ का अध्यक्ष रामशरण थापाले बताए । चिनियाँ समूहले लसुनको बीउ चीनबाट ल्याएर गत पुसमा रोपेको हो । आगामी चैतभित्र उत्पादन हुने बताइएको छ ।
लसुनखेतीका लागि उनीहरूले आवश्यक पर्ने स्थानीय मल, विषादी, कृषि उपकरण र श्रमिक प्रयोग गरिरहेको वडासदस्य रामराजा लामिछानेले बताए । चिनियाँहरूले २२ लाख ५० हजार जग्गा भाडाका लागि बुझाएका छन् । मल, विषादी, उपकरण र कामदारमा अहिलेसम्म ६० लाखभन्दा बढी खर्चिसकेका छन् । चिनियाँ टोलीले स्थानीय कामदारलाई घन्टाको एक सय रुपैयाँका दरले ज्याला दिइरहेको स्थानीय युवा सन्तोष लामिछानेले बताए ।