Logo

आर्थिक गतिविधि बढाएर समृद्धि हासिल गर्ने

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु भएको छ । आर्थिक गतिविधि बढाएर समृद्धि हासिल गर्ने लक्ष्यसहित गृहमन्त्री रमेश लेखकले महोत्सवको उद्घाटन गरेका हुन् । फागुन १८ सम्म चल्ने महोत्सवमा निर्माण सामग्री र निर्माण सम्बद्ध स्टलसहित ३ सय वटा स्टल राखिएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा भएको महोत्सवमा गृहमन्त्री लेखकले आर्थिक गतिविधि बढाएर समृद्ध नेपाल बनाउन सरकार प्रतिवद्ध रहेको बताए । देशमा लगानीमैत्री वातवरण बनाउने, संघीय गणतान्त्रिक व्यवस्थालाई थप मजबुत गराउँदै सुशासन प्रवर्द्धन गर्नकै लागि सरकारले अध्यादेशमार्फत कानुनहरू संशोधन गरेको मन्त्री लेखकको भनाइ थियो ।

‘मुलुकमा व्यावसायिक वातावरण सुनिश्चितता गर्नु अध्यादेशको पहिलो उद्धेश्य हो,’ लेखकले भने, ‘व्यावसायिक क्षेत्रमा भएका कानुनी जटिलता हटाउने र आर्थिक विकासमा परिरहेका समस्याहरू समाधान हुने हामीले विश्वास लिएका छौँ ।’ सरकारले ल्याएको अध्यादेशको मुलुकका सबै व्यावसायिक तथा औद्योगिक संघसंस्थाले स्वागत गरेको भन्दै लेखकले निजी क्षेत्रको भावना र मर्मअनुसार कानुन संशोधन भएको दावी गरे ।

मुलुकमा बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र नै निर्माण क्षेत्र भएको भन्दै यसलाई व्यवस्थित गर्दै भएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव थियो । निर्माण व्यवसायी संघले आयोजना गरेको महोत्सवले निर्माण क्षेत्र मात्रै नभई समाजका सबै क्षेत्रले लाभ लिनसक्ने बताए । सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानी नगरेको भन्ने गुनासो आएको भन्दै लेखकले भने,‘सरकारले अहिले पुराना भुक्तानी बिस्तारै दिइरहेको छ । सम्पूर्णलाई भुक्तानी भइसकेको छैन, ५–६ महिनायता निरन्तर दिइरहेको छ । तपाईहरू काम गर्नोस्, केही ढिला होला तर, भुक्तानीको सुनिश्चितता हामी गर्छौँ ।’

निर्माण व्यवसायका क्षेत्रमा कुनै किसिमका असुरक्षा हुन नदिन आफूहरूले ध्यान दिने गृहमन्त्रीको प्रतिबद्धता थियो । ‘निर्माण व्यवसायमा चन्दा आतंक, धम्की, ज्यान मार्ने धम्की जस्ता कुराहरू आउने गरेको सुनिन्छ, तर, तपाईहरू ढुक्क भएरअघि बढ्नोस्, अवाञ्छित गतिविधि भए सुरक्षा निकायलाई भन्नोस्, हामी पूर्ण सुरक्षा दिन्छौँ’ लेखकले भने । गुणस्तरीय र समयमा निर्माण सक्नुपर्ने विषय चुनौतीका रूपमा रहेकोले निर्माण व्यवसायीहरूले गुणस्तरीय निर्माण र समयभित्रै काम सक्नेगरी काम गर्नु पर्ने उनले सुझाव दिए ।

यी दुई कुरामा केही व्यवसायी प्रतिबद्ध नहुँदा राज्यलाई नोक्सानीका साथै निर्माण व्यवसायी पनि आलोचित हुनुपरेको उनको भनाइ थियो । महोत्सव उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सदस्य दीपकबहादुर सिंह, पूर्वराज्यमत्री एवं नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष आनन्दराम पराजुली, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सवमा निर्माण सामाग्रीका ३४ स्टल, जुत्ता, चप्पल, कपडालगायतका स्टल २ सय वटा, १८ वटा होटल, घरेलु उद्योगका १५, महिला उद्यमी, कृषि उपज र नवीनतम निर्माण उपकरण तथा सामाग्रीको १०/१० वटा स्टल राखिएको छ । नवीनतम निर्माण उपकरण तथा सामाग्रीहरूको बृहत प्रदर्शनी एवं बिक्रीका साथै बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनको प्रदर्शनी र बिक्री गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन तथा सेवाहरूको बृहत प्रदर्शनी, सूचना प्रविधि तथा कृषि उत्पादनको प्रदर्शनी घरेलु तथा हस्तकला सामाग्रीको प्रदर्शनी र बिक्री, कृषि उत्पादनको प्रदर्शनीमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरूको बिक्री हुनेछ । महोत्सवमा करिब ६ करोडभन्दा बढी प्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको छ । मकवानपुर र आसपासका जिल्लाहरूबाटसमेत गरी करिब डेढ लाख जनाभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्