Logo

२० करोडमा जुगाडखोला करिडोर बन्ने

जुम्ला– साविक कर्णाली अञ्चलको सदरमुकाम तथा जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा रहेको जुगाड खोला स्वच्छ बनाउन ‘जुगाड खोला करिडोर’ निर्माण सुरु भएको छ । बढ्दो सहरीकरणका कारण दुर्गन्धित बन्दै गएको जुगाड खोलालाई व्यवस्थित बनाउने, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न जुगाड खोला करिडोर निर्माण गर्न थालिएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको २० करोड लगानीमा निर्माण हुने जुगाड खोला करिडोरको मंगलबार चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले शिलान्यास गरेकी छन् । सफा र सुन्दर नगर बनाउने संकल्पसहित अघि सारिएको जुगाड खोला करिडोरको शिलान्याससँगै निर्माण कार्य अघि बढेको हो ।

बढ्दो सहरीकरणले साँघुरिँदै गएको जुगाड खोला संरक्षणका लागि करिडोर निर्माण गर्न थालिएको उपमेयर खड्काले बताइन् । उनले भनिन, ‘जुगाड खोला नगरपालिकाको सौन्दर्य हो । अनियन्त्रित मानवीय गतिविधिले जुगाड खोला दुर्गन्धित र साँघुरो बनेको छ । यसलाई संरक्षण गर्नु चुनौतीको विषय बन्दै गएपछि करिडोर बनाउन थालेका हौं । केही वर्षमा सुन्दर र चिटिक्क नगर देखिने छ ।’

करिडोर निर्माणपछि नगरपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । जुगाडखोला करिडोर आफैंमा पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । भने, त्यसैमा पनि कञ्चन जुगाडखोलाको दृश्यले मनै लोभ्याउनेछ । करिडोरमा पर्यटन पूर्वाधार निर्माणका लागि रेखाङ्कनसमेत सुरु भइसकेको छ । चन्दननाथ–५ स्थित खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर लगाइएको हो ।

करिडोर बहुवर्षीय योजनाअनुसार पहिलोपटक ६ करोड रुपैयाँ छुट्याइएको छ । चालु आर्थिक वर्षमा तीन किलोमिटर करिडोरको काम निर्माण हुने नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ–४ मालाभिडसम्म दायाँबायाँ दुई मिटर फराकिलो करिडोर यो आर्थिक वर्षभित्रै निर्माण हुनेछ ।

‘करिडोरभित्र पर्ने सार्वजनिक स्थानमा बनेको भौतिक संरचना उठाउन नगरपालिकाले पत्र पठाइसकेको छ । सार्वजनिक जग्गामा निर्मित घर टहरा तत्काल भत्काउन आग्रह गरिएको छ । जुगाड खोला मिचेर केही घर टहरा निर्माण भएकाले हटाउन अनुरोध गरिएको छ भने अटेरी गरेमा डोजर लगाएर भत्काउने नगरपालिकाको तयारी छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले सहकारी विकास तथा भवन निर्माण आयोजनाको २० करोड सहयोगमा करिडोरको काम हुने बताए । उनका अनुसार कुल २० करोड लगानीमा निर्माण हुने करिडोरका लागि चालू आवमा ६ करोड विनियोजन भएको छ । ‘जुगाडखोला करिडोरमा स्टेट लाइट, सिसी क्यामरा र बीचमा आराम गर्न मिल्ने प्रतीक्षालय, पार्क लगायतका पूर्वाधार निर्माण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्