चितामा राखिसकेको शव प्रहरीको नियन्त्रणमा «

चितामा राखिसकेको शव प्रहरीको नियन्त्रणमा

विराटनगर-मोरङको विराटनगरस्थित सिंघिया घाटमा चितामा राखिसकेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले घाटबाट शव नियन्त्रणमा लिएको हो । विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा मोरङ प्रहरीले जनाएको छ । विराटनगर–८ बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई परिवारले अन्त्येष्टिका लागि घाटमा पु-याएको थियो । बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरे पनि मृतकको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चितामा राखेर जलाउने तयारी गरिरहेको अवस्थामा माइती पक्षले मृतकको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको थियो । प्रेमदेवीको मृत्यु भएको भनेर बिहान साढे ५ बजे उनका माइतीलाई खबर पुगेको थियो । मृतककी दिदी श्यामदेवी साहले यसअघिदेखि झगडा हुने गरेको कारण बहिनी सधैं तनावमा रहने गरेकाले मानसिक समस्यासमेत देखिएको जानकारी दिइन् । उनले मृतक बहिनीका परिवारले कालगतिले नै मृत्यु भएको भनेर छरछिमेकलाई सुनाए पनि घटना रहस्यमय रहेको बताइन् । “बहिनीको मृत्यु कालगतिले हुँदै होइन,” उनले भनिन्, “निष्पक्ष अनुसन्धान गरी हत्यारालाई कारबाही होस् ।”
घटनापछि प्रहरीले प्रेमदेवीका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएको छ । गोविन्दसँग उनको १२ वर्षअघि मागी विवाह भएको आफन्तले जनाएका छन् । उनीहरूका ११ र ९ वर्षका दुई छोरा छन् । गोविन्दलाई नियन्त्रणमा लिएपछि प्रहरीले उनको घरको खानतलासीसमेत गरेको छ । गोविन्दले भने श्रीमती केही समयदेखि मानसिक बिरामी रहेको बताउँदै कालगतिले नै मृत्यु भएको दाबी गरेका छन् । उनले श्रीमतीले पाँच महिनाअघि सलले घाँटी कसेर आत्महत्याको प्रयास गरेको बताउँदै अहिले शंकास्पद रूपमा हेरिएको डाम त्यतिखेरकै रहेको दाबी गरे । साहले भने, “पाँच महिनाअघि पनि श्रीमतीले पासो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन् । उनको घाँटीको डाम त्यतिबेलाकै हो ।”
मानसिक बिरामीका कारण छटपट गरेपछि आफूले बिहान ३ बजेसम्म रुघेर बसेको र निद्रा लागेर झकाएपछि श्रीमतीको मृत्यु भएको उनले बताए । बिहान ५ बजे उठेर हेर्दा श्रीमतीलाई खाटबाट तल झरेको र मृत्यु भएको अवस्थामा पाएको उनले दाबी गरे । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे यथार्थ बाहिर आउने एसपी अधिकारीको भनाइ थियो । “घटनाको सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ । मृतकका श्रीमानलाई पनि नियन्त्रणमा लिइसकेकाले घटनाको यथार्थ चाँडै सार्वजनिक गर्छौं ।”

 

प्रतिक्रिया दिनुहोस्