Logo

आगामी बजेटको सिलिङ १९ खर्ब

काठमाडौं– राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटको सिलिङ करिब १९ खर्ब रुपैयाँ निर्धारण गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले करिब १९ खर्ब सिलिङ निर्धारण गरी आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी
प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको जानकारी दिए ।

चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरेकामा अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब खर्च हुने अनुमान गरिएको छ । यसमा करिब १२ प्रतिशत वृद्धि हुने गरी योजना आयोगले स्रोतको अनुमान गरेको हो ।

हालै सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधनमार्फत माघ मसान्तभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको नेतृत्वमा उक्त समिति रहने गर्छ । समितिले आगामी प्रत्येक तीन आर्थिक वर्ष २०८२–८३ देखि २०८४–८५ को राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ । आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा संघीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्