बाढी पहिरोबाट क्षति पुगेका २६ आयोजना पुननिर्माणका लागि करिव १९ अर्बको स्रोत सहमति

काठमाडौं– अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति पुगेका सडक तथा पुलका २६ आयोजना पुननिर्माणका लागि १८ अर्ब ८८ करोड रूपैयाँको स्रोत सहमति दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही फागुन ४ मा माग गरे अनुरुप अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार ती आयोजना पुननिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् । स्रोत सहमति दिएका २६ आयोजनामध्ये १३ वटा आयोजना सडकका र बाँकी १३ वटा पुल पुननिर्माणसँग सम्बन्धित छन् ।
सडक पुननिर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुननिर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ ।