Logo

‘ताेप नै हानेपनि सरकार ढल्दैन’

दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास गर्ने संकल्प सरकारले पूरा गर्ने बताएका छन् । आर्थिक रुपमा जनतालाई सम्पन्न बनाउने संकल्प वर्तमान सरकारले पूरा गर्ने उनको भनाइ छ । नेकपा एमाले दाङ जिल्ला कमिटीले घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको यात्रालाई कसैले रोक्न नसक्ने समेत बताए ।

देशको विकास गर्दै जनतालाई शान्ति र स्थायित्वको प्रत्याभूति दिलाउने काम वर्तमान सरकारको भएको भन्दै प्रधानमन्त्री ओलीले अध्यादेश जसरी पनि पारित हुनेसमेत बताए । देश बदल्ने कामको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देश विकास गर्ने जिम्मेवारी मेरो हो । वर्तमान सरकारले विकास गर्छ, यसमा कसैले अवरोध गर्न सक्दैन ।’ उनले देशको विकास गर्न ल्याएका अध्यादेश कसैले रोक्न नमिल्ने तर्क गरे ।

उनले अध्यादेश ल्याउनुमा कुनै शंका नगर्नसमेत आग्रह गरे । प्रधानमन्त्री ओलीले देश र लोकतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेसहित दलहरु मिलेर वर्तमान सरकार बनाएको भन्दै यो सरकारले बाँकी तीन वर्ष पुरै काम गर्ने बताए । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देशको विकास, स्थायित्व र लोकतन्त्रको रक्षाका लागि मुख्य दुई शक्ति मिलेर सरकार बनाएको भन्दै सरकार कसैले भन्दैमा नढल्ने स्पष्ट पारे ।

‘यो सरकार २०८४ सम्म रहन्छ, कसैले तोप नै हानेपनि ढल्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग स्पष्ट बहुमत छ, त्यसकारण सरकार ढल्दैन र २०८४ सम्म कांग्रेस एमालेको नेतृत्वमा सरकार निरन्तरता पाउने छ ।’ उनले दुई दलको उच्च समदारी अनुसार अहिले आफूले सरकारको नेतृत्व गरिरहेको बताए । आफ्नो नेतृत्वमा सरकार बनेपछि देश समृद्धतर्फ गएको प्रधानमन्त्री ओलीले दाबी थियो ।

देशलाई बदल्ने शक्ति एमालेबाहेक कसैमा नभएको भन्दै प्रधानमन्त्री ओलीले दाङको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने एमालेको गन्तव्य हो, गन्तव्यबाट एमाले विचलित हुँदैन । तपाईहरु ढुंक्क हुनु होस । हामीले देशलाई समृद्ध बनाउँछौ ।’ उनले विगतमा आफुले सुरुङमार्ग, रेग, पानी जहाज चलाउने कुरा गर्दा मानिसहरु हास्ने र गिज्याउने गरेपनि अहिले त्यी काम भइरहँदा आश्चर्य पर्ने गरेको बताए ।

‘अहिलेको सरकार सुन्दर नेपाल, सुखी नेपाली बनाउन दृढता र संकल्पसहित लागि परेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘देशको समग्र विकास, उन्नतिसँगै दाङको विकासमा विशेष ध्यानमा राखिएको छ ।’ अहिले मदन भण्डारी राजमार्ग योजना अनुसार दाङको घोराही–तुलसीपुर चारलेन सडक चाडै स्तरउन्नतीको काम हुने बताए । त्यसैगरी उनले तुलसीपुर एयरपोटको विकास र विस्तारका लागि आगामी वर्षको बजेटमा समेट्ने प्रतिवद्धता व्यक्त गर्दै आफूले भनेको पूरा गर्ने आस्वासन दिए ।

संघीयता, सहकार्य र कानुनी समन्वयमा जोड
प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलता पूर्वक कार्यान्वयनमा आएको बताए ।

‘संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको छ’ उनले भने । हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक, तथा पूर्वाधार विकासलाई उनले प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गरे । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै, मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

‘यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन’ उनले भने । सिंचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीलाई पार गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।

‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं’ उनले भने । उनले प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा संघीय सरकारद्वारा स्थापित मौजूदा कानुनलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्