Logo

खडेरीका कारण पर्वतमा हिउँदे बालीनाली प्रभावित

पर्वत– लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित भएको छ । झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका कृषकले लगाएको बालीनाली र लगाउन नपाएको बालीनालीको उत्पादनको अवस्थालाई मध्यनजर गर्दा करोडौको नोक्सानी पुग्ने अवस्था देखिएको छ । कृषकहरूले लगाएको आलु, गहुँ, जौ, तोरीलगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ । पर्वतमा यतिवेला खेतमा मकैबाली लगाउने बेला भएको छ ।

तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरूले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका कृषकसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । लामो समयको खडेरीले कृषकलाई ठूलो समस्या परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए । खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए । गत असोजको पहिलो सातापछि यस क्षेत्रमा वर्षा भएको छैन ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ । सिंँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । उनका अनुसार बालीनाली उम्रिसकेपछि सिँंचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिंँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँंचाइ अनिवार्य गर्नुपर्दछ । ‘सिँंचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ,’ अधिकारीले भने ।

कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले यो वेलामा जमिनको आँत भिज्ने गरी वर्षा भइदिने हो भने अब लगाउने बालीनालीमा धेरै सहयोग हुने बताए । चिस्यानबिना जोतिएका खेतमा डल्ला आउने र डल्लामा परेको मकै नउम्रिने भएकाले उत्पादनमा ह्रास आउन सक्ने उनको भनाइ छ । पर्वतमा आकाशे वर्षाको भरमा खेतीवाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रूपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी बेहोर्नुपरेको केन्द्रले जनाएको छ ।

तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढिले उत्पादनमा कमी आउने उनको अनुमान छ । त्यसैगरी लहरेवाली समेत समयमा लगाउन नपाउँदा ब्यावसायिक तरकारी कृषकहरू मारमा परेका छन् । उनका अनुसार जिल्लाको पातीचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतवारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ । कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली नै सखाप भएपछि कृषकसमेत चिन्तित बनेका छन् ।

अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकले गुनासो गरेका छन् । जिल्लामा झण्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँंचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँंचाइ नहरमा समेत पानी बन्द हुँदा झनै समस्या भएको छ । सानातिना मूलको भरमा खेतीपानी गर्दै आएका कृषक प्रचण्ड खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शंकरपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिए ।

उनले भने, ‘मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्यामा भएको छ ।’ अझै एक/दुई साता पानी नपर्ने हो भने मकैखेती र लहरेबाली समेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिराबट आउने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्