घरजग्गा कारोबारमा १४ प्रतिशत बढ्यो राजस्व

काठमाडौं– अर्थतन्त्र सुस्त भए पनि चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा घरजग्गा कारोबारबाट उठ्ने राजस्व १४ प्रतिशतले बढेको छ ।
गत आवको माघसम्ममा देशभरका मालपोत कार्यालयहरुबाट २१ अर्ब ६२ करोड रुपैयाँ राजस्व असुली भएको थियो । चालु आवको माघसम्ममा यस्तो राजस्व २४ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको छ । यो गत माघसम्मको तुलनामा ३ अर्ब ७ करोड अर्थात् १४.१९ प्रतिशतले धेरै हो ।
मालपोत कार्यालयहरुले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन अन्य शीर्षकमा पनि कर उठाउँछन् । माघसम्म उठेको २४ अर्ब ६९ करोड राजस्व रजिष्ट्रेशनसहित सबै कर हो ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आवको माघसम्ममा औषत प्रतिमहिना ३ अर्ब ५२ करोड ७१ लाख रुपैयाँका दरले राजस्व असुली भएको छ । गत वर्ष माघसम्मको प्रतिमहिना राजस्व असुली औषतमा ३ अर्ब ८ करोड ८५ लाख रुपैयाँ थियो । यो वर्ष अहिलेसम्म औषतमा प्रतिमहिना करिब ४४ लाख रुपैयाँ राजस्व बढेको छ ।
विभागका अनुसार यो वर्ष माघसम्मका ७ महिनामध्ये एकबाहेक सबै महिनामा राजस्व बढेको छ । गत वर्ष असोजको भन्दा यो वर्ष असोजमा एक अर्ब रुपैयाँ राजस्व कम उठेको छ । अन्य सबै महिनामा राजस्व बढेको छ ।
विभागका अनुसार गत असोजमा ४ अर्ब ८ करोड राजस्व असुली भएको थियो भने यो असोजमा ३ अर्ब ८ करोड संकलन भएको छ । यस्तै सुरु महिना साउनमा यो वर्ष ३ अर्ब ८३ करोड राजस्व असुली भएको छ । गत वर्ष साउनमा राजस्व २ अर्ब ९१ करोड उठेको थियो ।
यस्तै गत वर्ष भदौमा ३ अर्ब ४ करोड राजस्व संकलन भएकामा यो वर्ष भदौमा ५ करोडले बढेर ३ अर्ब ९ करोड पुगेको छ । यो वर्ष कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व असुली भएको थियो । गत वर्ष कात्तिकको राजस्व २ अर्ब १६ करोड रुपैयाँ थियो ।
विभागका अनुसार गत वर्ष मंसिरमा २ अर्ब ८६ करोड राजस्व उठेकामा यो मंसिरमा ३ अर्ब ८७ करोड पुगेको छ । यो महिनामा पनि राजस्व एक अर्ब एक करोडले बढेको छ । यस्तै घरजग्गा कारोबारबाट उठ्ने राजस्व पुसमा पनि गत वर्षभन्दा एक अर्ब ५ करोड रुपैयाँले बढेको छ ।
गत वर्ष पुसमा ३ अर्ब २० करोड राजस्व उठेकामा यो वर्ष पुसको राजस्व ४ अर्ब २५ करोड पुगेको छ । यस्तै माघमा पनि राजस्व केही बढेको छ । यो वर्ष माघमा ३ अर्ब ८७ करोड राजस्व असुली भएको छ । गत वर्ष माघको राजस्व ३ अर्ब ३७ करोड रुपैयाँ थियो ।
विभागका अनुसार गत साउनको तुलनामा यो साउनमा ९२ करोड रुपैयाँले राजस्व बढेकामा भदौमा ५ करोडमात्र वृद्धि भएको छ । यस्तै असोजमा एक अर्ब रुपैयाँले घटेको राजस्व कात्तिकमा ५४ करोड र मंसिरमा फेरि एक अर्ब एक करोडले बढेको छ । पुसको राजस्व गत वर्षभन्दा एक अर्ब ५ करोडले बढ्दा माघमा भने ५० करोडले मात्र वृद्धि भएको छ ।
चालु आवका सात महिनामध्ये दुई महिनामा राजस्व असुली एक अर्बभन्दा माथिले बढेको छ भने एक महिना एक अर्ब रुपैयाँले घटेको छ ।
विभागका निर्देशक वेदप्रसाद अर्यालले यो वर्ष घरजग्गा कारोबार उच्च दरले नबढे पनि कित्ताकाट र जग्गा वर्गीकरणको काम लगभग सकिएकाले आगामी दिनमा कारोबार बढ्ने अपेक्षा गरेको बताए । केही वर्षदेखि घरजग्गा कारोबारमा आएको मन्दीले आर्थिक क्रियाकलापलाई नै सुस्त बनाउन पुगेको बताइन्छ । सरकारले जग्गाको कित्ताकाट गर्न रोकेपछि यसको कारोबारमा पनि मन्दी आउन सुरु भएको थियो । अहिले कित्ताकाट खुला भएको छ । तैपनि देशभरका मालपोत कार्यालयमा घरजग्गाको कारोबार कित्ताकाट रोक्नु अगाडिका वर्षहरुको जस्तै बढेको छैन ।
२०७६ सालमा भू—उपयोग ऐन र २०७९ मा भू—उपयोग नियमावली जारी भएपछि सरकारले जग्गा वर्गीकरणका लागि कित्ताकाट रोकेको थियो । यसपछि घरजग्गा कारोबारमा मन्दी आउन सुरु भएको थियो । सरकारले गत साउनबाट जग्गाको कित्ताकाट खुला गरेको थियो । यसपछि कारोबारमा केही सुधार देखिँदै आएको छ ।
अहिलेसम्म घरजग्गा क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी छ । विगतमा घरजग्गामा गरेको लगानीबाट उच्च दरको प्रतिफल आउने गरेको थियो । यही कारण यो क्षेत्रको लगानीमा रियलस्टेट व्यवसायीमात्र नभएर सबैको ध्यान गएको थियो । सर्वसाधारणदेखि उद्योगी–व्यवसायी सबैको यो क्षेत्रमा ठूलो लगानी छ । अहिले यही क्षेत्र चलायमान हुन नसक्दा अधिकांशको लगानी फसेर बसेको छ ।