Logo

पाँचतारे होटलको संख्या २६ पुग्यो

काठमाडौं– मुलुकभर सञ्चालनमा आएका पाँचतारे होटलको संख्या २६ पुगेको छ । पर्यटन विभागका अनुसार यीमध्ये २० वटा पाँचतारे, ३ वटा पाँचतारे डिलक्स र अर्का तीनवटा पाँचतारे बुटिक होटल हुन् ।

विभागको होटल शाखाका अधिकृत हरिशरण न्यौपानेका अनुसार डिलक्स पाँचतारे होटलहरुमा भेगन सिटी झापा, सोल्टी होटल काठमाडौं र हिल्टन होटल काठमाडौं हुन् । यसैगरी पाँचतारे स्तरका बुटिक लक्जरी होटलमा द्वारिकाज, बसेरा र वर्णवास होटल परेका छन् ।

पछिल्लो समय मक्र्योर काठमाडौं, हिल्टन, म्यासिभ, लेमन ट्रि प्रिमियर र होलिडे इन रिसोर्ट सञ्चालनमा आएका छन् । ठूलो लगानीमा सञ्चालनमा आएका यी होटल विदेशी चेन होटल हुन् । यसअघि धुम्बाराहीको होटल अकामा, होटल मेची क्राउन प्लाजा, भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेशनल, दुसित प्रिन्सेस काठमाडौं, हायात रिजेन्सी, होटल मेरियट, हायात प्यालेस, होटल अलफ्ट सञ्चालनमा आएका थिए ।

मोसफलमा झापाको बिर्तामोडमा सञ्चालित द किङ्सवेरी, पोखरा ग्राण्ड, टाइगर वान, सोल्टी वेष्टर्न, होटल सेन्ट्रल प्लाजा र इच्छा होटल पाँचतारे सञ्चालनमा आएका थिए । दरबारमार्गको होटल डेल अन्नपूर्ण स्तरोन्नतिको क्रममा छ भने हायात प्लेस, मल्ल होटल, सांग्रिला होटल र एभरेष्टले सेवा दिइरहेका छन् । काठमाडौंमै फ्रान्सको चर्चित चेन होटल रोयल टुलिप सञ्चालनको तयारीमा छ ।

विभागको विवरणमा चारतारे स्तरका होटलको संख्या ४१ छ भने हेरिटेज बुटिक होटल चारतारे तीनवटा छन् । बूढानीलकण्ठमा रहेको होटल मनास्लु र होटल मनाङलाई चारतारे बुटिक होटलमा वर्गीकरण गरिएको छ । चारतारे स्तरको विश्वप्रसिद्ध अमेरिकी ब्राण्डसँग सहकार्य गरी वेष्टर्न प्लस काठमाडौं होटल सञ्चालनमा आएको थियो । केएमसी ग्रुपका संस्थापकहरूको १.५ अर्ब रुपैयाँ प्रारम्भिक लगानीमा होटल सञ्चालनमा आएको हो । इटहरीमा रमदा र पोखरामा इन्टरकन्टिनेन्टल, होटल सोल्टी, बाराही, पौवा होटल, सिद्धार्थ होटलहरुमा पनि लगानी विस्तार भइरहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय तथा रेष्टुरेण्ट सर्वेक्षण २०८० को नतिजाअनुसार देशभर १ लाख ४२ हजार २२३ होटल, रिसोर्ट तथा रेष्टुरेण्ट सेवा सदन छन् । मुलुकभरका होटल तथा रिसोर्टले दैनिक २२ लाख ३४ हजार आठ सय ५२ जनालाई (एक बसाइमा) भोजन सेवा दिन सक्छन् । आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ मूल्यबराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ ।

विभागका अनुसार तीनतारे ३७, दुईतारे ४९ र एकतारे ४५ वटा होटल छन् । अधिकृत न्यौपानेका अनुसार विभागमा निर्माण चरण पूरा गरेर सञ्चालन अनुमति र वर्गीकरणका लागि होटलहरु दर्ता प्रक्रियामा आउने गरेका छन् ।

आइएमई ग्रुपले पनि पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । पर्यटकको खर्च र बसाइ अवधि बढाउन आइएमईले सातवटै प्रदेशमा होटल तथा केबुलकारसहित पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको जनाएको छ । यो समूहले पछिल्लो समय बागलुङमा होटल इला कम्फर्ट सञ्चालनमा ल्याएको थियो भने नवलपरासीमा पनि इला होटल सुरु गर्ने तयारी भइरहेको बताएको छ । आइएमई समूहले काठमाडौंको चन्द्रागिरि र पूर्वी नवलपरासीको गैंडाकोटमा मौलाकाली केबलकार, होटल तथा रिसोर्ट र अन्य मनोरञ्जनात्मक पूर्वाधार तयार गरी सञ्चालनमा ल्याइसकेको छ । रुपन्देहीको बुटवलमा केबलकार सञ्चालनमा आइसकेको छ भने पाँचतारे होटलसहित अन्य पूर्वाधार निर्माणको क्रममा रहेको छ ।

आइएमईले नै सुदूरपश्चिम प्रदेशको कैलालीमा जालपादेवी केबलकारसहित पाँचतारे होटल निर्माण प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै कास्कीको सिक्लेस र ताप्लेजुङको पाथीभरामा पनि होटलसहित केबलकर निर्माणको काम अघि बढेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण र पर्यटकको पर्याप्त सम्भावना भएका कारण नेपालमा होटलको संख्या थपिने क्रम जारी रहेको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यको भनाइ छ । एकपटक लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न सकिने भएका कारण होटल क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको उनको बुझाइ छ । तर, पूर्वाधार विस्तार भए पनि पर्यटक आगमन कम भएको उनले बताए । भारत र चीनमा मात्र उडान संख्या बढाएर प्रचारप्रसारमा जोड दिएको खण्डमा ३५ देखि ४० लाख पर्यटक आउने शाक्य बताउँछन् । हवाई सञ्जालको विस्तार गर्न नसक्दा वार्षिक अधिकतम १२ लाख पर्यटकमा सीमित हुनुपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्