Logo

परराष्ट्रमन्त्री र जापानी विदेशराज्यमन्त्री भेटवार्ता

बिपी राजमार्गको पुन:निर्माणका लागि आग्रह

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले सोमबार शिष्टाचार भेटवार्ता गरेकी छिन् । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री डा देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको हो ।

सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा देउवाले नेपालको एक प्रमुख दाता राष्ट्रका रूपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत जापान सरकारलाई आभार व्यक्त गरेकी थिइन् ।

भेटका क्रममा नेपाल र जापानले आगामी वर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो ।

त्यस अवसरमा नेपाल र जापानले गत वर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच वर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यविधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो । साथै मन्त्री डा देउवाले नेपालमा गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण बिपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुन:निर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गरेकी थिइन् ।

यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा आग्रह गरेको स्मरण पनि मन्त्री डा देउवाले सोमबारको भेटका क्रममा जापानी राज्यमन्त्रीलाई गराएकी थिइन् । साथै मन्त्री डा देउवाले जापान सरकारलाई नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गरेकी थिइन् ।

मन्त्री डा देउवाले हाल काठमाडौं नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल र जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा मन्त्री डा देउवाले राखेकी थिइन् । यस विषयमा अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया जापानी मन्त्री मियाजीले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्