Logo

कर्णालीका ७९ पालिकामध्ये मूल्यांकनमा जाजरकोटको नलगाड पहिलो

संस्थागत क्षमता स्वमूल्यांकनमा सुदूरपश्चिम अगाडि

वीरेन्द्रनगर– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सुदूरपश्चिम प्रदेश अगाडि देखिएको छ । कर्णाली प्रदेशका ७९ पालिकामध्ये जाजरकोटको नलगाड नगरपालिका पहिलो भएको छ । सुदूरपश्चिमका ८८ वटा पालिकामध्ये ८५ वटा स्थानीय तहको मूल्यांकनमा ९६.५९ प्रतिशत अंक प्राप्त गरेका छन् । दोस्रोमा कर्णाली प्रदेश आएको छ ।

कर्णालीका ७९ वटा पालिकामध्ये ७५ वटा पालिकाको मूल्यांकन हुँदा ९४.९४ प्रतिशत अंक प्राप्त गरेका छन् । तेस्रोमा लुम्बिनी प्रदेश आएको छ । लुम्बिनीका १०९ पालिकामध्ये ९८ वटा पालिकाको मूल्यांकन गर्दा ८९.९१ प्रतिशत अंक ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको विवरणमा उल्लेख छ ।

मधेश प्रदेशका १३६ वटा पालिकामध्ये ११९ वटा पालिकाको मूल्यांकन गर्दा ८७.५० प्रतिशत अंक ल्याएका छन् । गण्डकी प्रदेशका ८५ वटा पालिकामध्ये ६१ वटा पालिकाको मूल्यांकन गर्दा ७१.७६ प्रतिशत अंक ल्याएका छन् । बागमती प्रदेशका ११९ पालिकामध्ये ८० वटा पालिकाको मुल्यांकन गर्दा ६७.२३ अंक प्राप्त गरेको पाईएको छ । ७५३ वटा पालिकामध्ये हाल ६३० वटा पालिकाको मात्र संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा आएको छ ।

मूल्यांकनका विषय तथा क्षेत्र १० वटा छन् । शासकीय प्रवन्धमा ९ अंक, संगठन तथा प्रशासन ८, वार्षिक बजेट तथा बजेट व्यवस्थापन ११, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ११, सार्वजनिक सेवा प्रवाह १६, न्यायिक कार्य सम्पादन ७, भौतिक पूर्वाधार १३, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९ र सहकार्य समन्वय ६ अंक निर्धारण गरेर मूल्यांकनका सूचक रहेका छन् । यिनै मूल्यांकनका आधारमा रहेर स्थानीय तहको मूल्याकंन हुँदै आएको छ ।

कर्णालीका १० जिल्लाको नतिजा
कर्णालीका ३८ वटा पालिकाले ९० प्रतिशतभन्दा माथि अंक ल्याएका छन् । सबैभन्दा बढी अंक ल्याउनेमा कर्णाली प्रदेशको जाजरकोटको नलगाड ९८.७५ ल्याई पहिलो भएको छ । दोस्रोमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका रहेको छ । चौरजहारीले ९७ अंक ल्याएर दोस्रो स्थान सुरक्षित गरेको छ । त्यस्तै रास्कोट नगरपालिका कालिकोट ९७.७५ अंक ल्याएर दोस्रो आएको छ ।

तिलागुफा नगरपालिका कालिकोट ९७.२५ अंक ल्याएर तेस्रो भएको छ । त्यस्तै सानीभेरी गाउँपालिका पश्चिमी रूकुम ९६.७५, गुर्भाकोट नगरपालिका सुर्खेत ९५.२५, दुल्लु नगरपालिका दैलेख ९४.२५, जगदुल्ला गाउँपालिका डोल्पा ९६, खार्पुनाथ गाउँपालिका हुम्ला ९४.५, सिमकोट गाउँपालिका हुम्ला ९६, ताँजाकोट गाउँपालिका हुम्ला ९४.२५ अंक ल्याएर उत्कृष्ट अंक ल्याएका छन् । ८० अंक कटाएका १३ वटा पालिका रहेका छन् ।

१० वटा पालिकाले ७० अंक कटाएका छन् । ६० अंक कटाएका पालिकाको संख्य ८ वटा छ । रुकुम पश्चिममा सबैभन्दा बढी सानीभेरी गाउँपालिका पश्चिमले ९६.७५ ल्याएर जिल्लाकै पहिलो भएको छ । दोस्रोमा आठबीसकोटले ९२.७५ र तेस्रोमा बाफिकोटले ९०.७५ अंक ल्याएको छ । सल्यानको दार्मा गाउँपालिका ९२.२५ अंक ल्याएर पहिलो र त्रिवेणी गाउँपालिका सल्यानले ९१.२५ अंक ल्याएर दोस्रो स्थान हात पारेको छ ।

९०.७५ अंक ल्याएर कपुरकोट गाउँपालिकाले तेस्रो स्थान हात पारेको छ । सुर्खेतमा गुर्भाकोट नगरपालिका ९५.२५ अंक ल्याएर पहिलो, दोस्रोमा भेरीगंगा नगरपालिकाले ९४ ल्याएर दोस्रो भएको छ । तेस्रोमा राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले ९१.२५ अंक रहेको छ । कदैलेखका ११ पालिकामध्ये नारायण नगरपालिकाले ९७ अंक ल्याएर पहिलो भएको छ ।

दोस्रोमा दुल्लु नगरपापलिकाले ९४.२५ अंक ल्याएको छ । तेस्रोमा डुङ्गेश्वर गाउँपालिकाले ९२.७५ अंक ल्याएको छ । जाजरकोटको नलगाड नगरपालिकाले सबैभन्दा बढी अर्थात् कर्णालीकै पहिलो भएको छ । नलगाडले ९८.७५ अंक ल्याएको छ । दोस्रोमा ९३ अंक छेडागाड दोस्रो भएको छ । तेस्रोमा ९१.५ अंक ल्याएर शिवालय गाउँपालिका चित्त बुझाएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाले ९६ अंक ल्याएर पहिलो, डोल्पो बुद्ध गाउँपालिकाले ९३ अंक ल्याएर दोस्रो स्थान ल्याएको छ । काइके र मुडकेचुला गाउँपालिकाले ९२.५ अंक ल्याएर तेस्रो स्थान हात पार्दै बराबर भएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाले ९३.७५ अंक ल्याएर पहिलो, दोस्रोमा कनकासुन्दरी गाउँपालिकाले ९२ अंक र तेस्रोमा हिमा गाउँपालिका ८७.२५ अंक ल्याएको छ ।

कालिकोटमा रास्कोट नगरपालिका ९७.७५ अंक ल्याएर पहिलो, दोस्रोमा तिलागुफा नगरपालिकाले ९७.२५ अंक र तेस्रोमा सान्नी त्रिवेणी गाउँपालिकाले ९५ अंक ल्याएको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले ८९ अंक ल्याएर पहिलो, दोस्रोमा खत्याड गाउँपालिकाले ८५.५ अंक र छायाँनाथ रारा नगरपालिकाले ८४.२५ ल्याएर तेस्रो स्थान हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्