Logo

धार्मिक पर्यटनमा भारतको अनुभव नेपाललाई काम लाग्छ

प्रयागराज भारत– नेपालले वार्षिक २० लाख पर्यटक भित्र्याउने योजनासमेत पूरा गर्न नसकिरहेको बेला छिमेकी भारतको उत्तर प्रदेश राज्यले भने महाकुम्भ मेलामार्फत एक महिनामै ५० करोड श्रद्धालुलाई सेवा दिन सफल भएको छ । भारतको यो असाधारण सफलतासँग नेपाली पर्यटनको सीमित स्रोत साधन र कार्यक्रमलाई तुलना गर्न नसकिए पनि यस क्षेत्रमा धार्मिक पर्यटनको अथाह सम्भावनाको ढोका भने खोलेको छ ।

भारतमा जस्तै नेपालमा पनि हिन्दु धर्मावलम्बीका लागि रहेका ठूला शक्तिपीठ र महास्नानको महत्त्व प्रचार गर्न सके धार्मिक पर्यटकमार्फत समग्र पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सकिने उच्च सम्भावना छ । महाकुम्भ मेलामा पुगेका नेपाली व्यवसायीहरु धार्मिक पर्यटनलाई उचित व्यवस्थापन र प्रभावकारी प्रचारप्रसार गर्न सकेमा नेपालले पनि सहजै पर्यटक भित्र्याउन सक्ने बताउँछन् । नेपालमा भारतजस्तो कुम्भ मेला नभए पनि यहाँका तीर्थस्थलमा लाग्ने स्नान पर्वहरू धार्मिक एवं सांस्कृतिक रूपमा उत्तिकै महत्त्वपूर्ण छन् ।

नेपालका यी तीर्थस्थलमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे संक्रान्ति, गंगा दशहरा, तथा हरिबोधिनी एकादशीका अवसरमा स्नानको परम्परा छ भने काभ्रेको पनौतीको १२ वर्षे मेलादेखि बर्सेनि काठमाडौंको शालीनदी र चितवनको देवघाटमा हुने मेलालगायतको प्रचारप्रसार आवश्यक रहेको उनीहरुको भनाइ छ ।

महाकुम्भ मेलामा सहभागी भएका नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल नेपाली तीर्थस्थलमा भारतीय हिन्दुहरुलाई मात्र आकर्षित गर्न सके पनि नेपालको पर्यटन क्षेत्र कायापलट हुने बताउँछन् । उनका अनुसार मेला आयोजनासँगै त्यहाँको जस्तो कुशल व्यवस्थापन अपरिहार्य छ । खासगरी पूर्वाधार विकास, सुरक्षालगायत विषयको व्यवस्थापन गर्न सके नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउन सकिने उनको भनाइ छ ।

‘महाकुम्भ मेलाजस्तै चुस्त व्यवस्थापन तथा मेलामा जानेहरु अयोध्या, वारणाससीलगायतका क्षेत्रमा जान जुन रुपमा त्यहाँ सहज बनाइएको छ, हामीले यस्ता कुराबाट धेरै सिक्न सक्छौं,’ उनी भन्छन्, ‘हामीकहाँ भएका धार्मिक शक्तिपीठको महत्त्व बुझाउन सकेमा संसारभरका हिन्दुलाई आकर्षित गर्न सक्छौं ।’ नेपालमा पनि धेरै संगमस्थल छन् तिनीहरुलाई जसरी प्रवर्द्धन गर्नुपर्ने त्यसरी गर्न सकिएको छैन ।

धेरै ऋषिमुनीले ध्यान गरेको र नेपालमा आराधना गरेको भएपनि हामीले त्यसको बजारीकरण गर्न सकेनौं यसका लागि सरकार, निजी क्षेत्र र पर्यटन क्षेत्रमा काम गर्ने सबैको प्राथमिकतामा पर्नुपर्छ । भारतमा ५० करोड दर्शनार्थी महाकुम्भमा पुगे भन्ने सुनिन्छ हामीले त ५० लाख मात्रै ल्याउन सके पनि अर्थतन्त्रलाई भाइव्रेन्ट बनाउन सकिने उनको अनुभव छ ।

चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले भने ‘महाकुम्भ मेला व्यापारिक मेला जस्तो लाग्यो जहाँ सबै कुराको व्यवस्थापन गरिएको थियो । २४ किलोमिटर हामी हिडेर संगम स्थलसम्म पुगेका थियौँ तर त्यहाँ धेरै किसिमका हेर्न र अनुभव गर्न सकिने गरि पूर्वाधार विस्तार गरिएकोले थकान महसुस हुन पाएन ।’ नेपालमा धेरै सम्भावना छ तर धार्मिक पर्यटनमा ध्यान नदिएको जस्तो उनको अनुभव छ ।

एकै स्थलमा यति धेरै मानिस जानु र अभुतपूर्व नै हो । बच्चादेखि बुढाबुढीसम्म सबैको उपस्थिति देखिएकाले महाकुम्भले सबै वर्ग र उमेरलाई आर्कषित गर्न सक्ने गरी व्यवस्थापकीय रणनीति अपनाएको उनको अनुभव छ । महाकुम्भमा अपनाइएको व्यवस्थापीकय अवधारणा नेपालको धार्मिक पर्यटन बढाउन सहयोग पुग्ने मेलामा सहभागी व्यवसायीको भनाइ छ ।

नेपालको पाशुपत क्षेत्रमा नदी सफा गरेर माघे संक्रान्ति, हरिशयनी एकादशी, महाशिवरात्री, तीज, गंगा दशहरालगायतका पर्वमा बागमती स्नान गराउन सकिने उनीहरु बताउँछन् । यस्तै, गण्डकी, नारायणी, नदीको संगमस्थल नवलपरासीको त्रिवेणीधाममा लाग्ने माघे संक्रान्ति, गंगा दशहरा, कात्तिक पूर्णिमा मेला तथा सुनसरीको बाराहक्षेत्रमा माघे संक्रान्ति, रामनवमी, हरिबोधिनी एकादशी पर्वमा लाग्ने कोशी नदी स्नानलाई पनि चर्चा गर्नुपर्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।

देवघाटधाममा माघे संक्रान्ति, हरिबोधिनी एकादशी, कात्तिक पूर्णिमामा तथा स्याङ्जाको कालीगण्डकी नदी किनारस्थित रामदीमा माघे संक्रान्ति, गंगा दशहरा स्नान गरिन्छ । यस्तै, जनै पूर्णिमामा मुक्तिनाथ तथा गोसाइकुण्डमा मेला लाग्ने भएकाले यसको स्नानमा पनि चर्चा गर्न सकिने अवस्था छ ।

नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्ध गहिरो रहेको र महाकुम्भ मेलामा नेपालबाट पनि ठूलो संख्यामा श्रद्धालु तथा साधु–सन्तहरू सहभागी भएकाले यसलाई थप प्रगाढ बनाउनु आवश्यक रहेको उपाध्यक्ष पाण्डे बताउँछन् । यसले दुई देशबीचको धार्मिक सम्बन्ध अझ प्रगाढ बनाउने तथा पर्यटन प्रवर्द्धन महाकुम्भ मेलामा आउने भारतीय तथा अन्तर्राष्ट्रिय तीर्थयात्रीलाई नेपालका प्रमुख धार्मिक स्थलहरू पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी आदि भ्रमण गर्न आकर्षित गर्न सकिने उनको भनाइ छ ।

नेपाल योग, ध्यान, र आध्यात्मिक साधनाको लागि प्रसिद्ध स्थान भएको र महाकुम्भ मेलामा नेपालका योग गुरु तथा आध्यात्मिक व्यक्तित्वले आफ्नो ज्ञान प्रचार गर्न सक्ने अवसर पाउने उनको विश्वास छ । यसले नेपालमा आउने आध्यात्मिक पर्यटकको संख्या पनि बढाउन सकिने उनी बताउँछन् । नेपालले महाकुम्भ मेलामा आधिकारिक रूपमा प्रतिनिधित्व गरेर भारतसहित अन्य देशहरूसँग धार्मिक तथा सांस्कृतिक कूटनीति मजबुत गर्न सक्नुपर्ने उनको भनाइ छ ।

महाकुम्भ मेलाले प्रयागराजलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको र यसको लाभ नेपालले पाउने महाकुम्भका सूचना अधिकारी गगन यादवको भनाइ छ । मेलामा सहभागी भएका पर्यटकले आफ्नो अनुभव साझा गर्दा भविष्यमा पनि पर्यटकको आगमन बढ्ने सम्भावना रहने र जसले स्थानीय अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने उनी बताउँछन् । महाकुम्भकै कारण भारतीय अर्थतन्त्रमा पूर्वाधार, पर्यटनदेखि समग्र विकासका आयाममै लगानी र प्राथमिकता पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्