सेनाद्वारा ऐतिहासिक गढी मर्मत

लमजुङ– नेपाली सेनाले लमजुङको ऐतिहासिक पुरानोकोट गढीमा मर्मत कार्य सुरु गरेको छ । जिल्लास्थित चण्डीप्रसाद गणले चालु आर्थिक वर्षको जनहित कार्यक्रमअन्तर्गत बेसीशहर नगरपालिका–४ मा रहेको ऐतिहासिक गढीको मर्मत कार्य थालनी गरेको हो ।
सेनाले पुरतत्व विभागबाट प्राप्त स्टिमेटको आधार र नेपाली सेना पश्चिम पृतना पोखराबाट प्राप्त श्रमदान बाहेकको आर्थिक स्टिमेटको आधारमा पुरानो र जीर्ण गढी मर्मत गर्न थालेको हो । गढी मर्मतका लागि नेपाली सेनाको १३ जना टोलि खटाइएको चण्डिप्रसाद गणका गणपति एवं प्रमुख सेनानी चित्रकुमार कार्कीले बताए । गत माघ २८ गतेदेखि गढी मर्मतमा सेनाको टोलि खटिएको प्रमुख सेनानी कार्कीको भनाइ छ ।
ऐतिहातसक, धार्मिक तथा पुरातात्विक महत्त्वका दरबार, गढी, किल्ला, पदमार्गको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित सेनाले जिम्मेवारी क्षेत्रमा रहेका गढी किल्लाको मर्मत सम्भार गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रम अन्तर्गत गणको जनशक्तिबाट पुरानोकोट गढीको मर्मत कार्य थालिएको र त्यस्ता कार्यालय निरन्तरता दिइने गणले जनाएको छ ।
सोबाहेक जिल्लामा रहेका दरबार, गढी, किल्लाको ऐतिहासिक दस्तावेज संकलन, अभिलेखीकरण, संरक्षण र संवद्र्धनका लागि मासिक रूपमा विशेष कार्यक्रम पनि सञ्चालन गर्दै आएको सेनाले जनाएको छ । गढी मर्मत कार्यअन्तर्गत सेनाले जीर्ण गढीको सरसफाइ गरी नयाँ सामग्रीको प्रयोग गरेर पहिलाकै आवरणको संरचना तयार गर्ने जनाएको छ ।
ऐतिहासिक गढी जीर्ण भए पनि केही वर्षअघि बेसीशहर नगरपालिकाले सो स्थानलाई ऐतिहासिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्तुपासहितको भ्यु टावर निर्माण गरेको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण गर्न बेसीशहर नगरपालिकाले स्तुपासहितको भ्यु टावर निर्माण गरेको हो । भ्यु टावर निर्माण भएसँगै पछिल्ला वर्षमा स्तुपा अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।
शाह वंशीय राजाको उद्गमथलो लमजुङको गाउँशहर नजिकै पुरानकोट गढी आँफैमा ऐतिहासिक पर्यटकीय गन्तव्य हो । बेसीशहर नगरपालिका–४ अन्तर्गत पर्ने पुरानकोट गढीको तत्कालीन लमजुङे राजाको अस्थायी दरबार थियो । स्तुपासहित भ्युटावर निर्माणसँगै पुरानो गढीको समेत मर्मत भएपछि इतिहासलाई अध्ययन गर्न थप सहज हुने पर्यटन अभियान्ताको भनाइ छ ।