Logo

गुइँठा बेचर आत्मनिर्भर बन्दै तराईका महिला

जनकपुरधाम– सीमावर्ती भारतीय बजारमा गुइँठाको माग बढेपछि धनुषा भररियाकी सेवती देवीलाई अहिले गोबरको गुइँठा बनाउन र घाममा सुकाउन हम्मेहम्मे भएको छ । यो त्यसै भएको होइन ।

सीमावर्ती भारतीय बजारमा यसको माग ह्वतै बढेपछि उनी गाउँघरबाट गोबर सोहरेर गुइँठा बनाउन थालेकी हुन् । इन्धनको विकल्पको रूपमा रहेको गुइँठामा खाना पकाउँदा स्वादिलो हुने र गुइँठाको आगो जाडोमा ताप्न पनि राम्रो हुने भएकाले भारतीय बजारमा प्रतिकिलो २० देखि २५ रुपैयाँ भारुमा बिक्री हुने भएकाले राम्रो आर्थिक आम्दानी बढेको उनको भनाइ छ ।

बिहानको झिसमिसेसँगै जोडिएको छ अर्का महिला महोत्तरी पोखरभिण्डाकी चटरिया देवीको घर । गाईवस्तुको गोबर उठाउनुपर्ने गुइँठा बनाउनुपर्ने सुकाउने र सीमावर्ती भारतीय बजारमा बेच्न जाने त्यसो त यस कार्यमा चटरियादेवी मात्र होइन, यस भेगका अन्य दलित तथा आर्थिक रूपमा पछि परेका महिलाको दिनचर्या यस्तै रहेको छ । चटरियादेवीको पाँचजना परिवार छ । उक्त परिवारका लागि खाना पकाउनुपर्ने बाध्यता छ ।

श्रीमान्को सामान्य कमाइले घर खर्च धान्न पुग्दैन । ग्याँसमा खाना पकाउन सकिँदैन । त्यसकारण ग्याँस र दाउराको विकल्पमा गुइँठा बनाउनु परेको छ । चटरिया भन्छिन्, ‘गुइँठा बनाउँदा आफ्नो पनि घरको खाना पकाउने र बढी भएको गुइँठा भारतीय बजारमा बेचेर आम्दानी भएको पैसाले घर व्यवहार चलाउन सकिन्छ ।’ चटरिया देवीको जस्तै दिनचर्या छ, मनराकट्टीकी लालवती देवीको । लालवती हिउँद सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन थाल्छिन् ।

काचो गोबरलाई सनपाटको लठीमा टाँसेर सुकाएपछि गुइँठा बन्ने गर्छ । मधेश प्रदेशका दक्षिणी भेगका गरिब तथा दलित महिला गुइँठालाई नै दाउराको विकल्पको रूपमा प्रयोग गर्दै आइरहेका छन् । तराईको समथर, उपब्जाउयोग्य खेतीबालीमा हाल्नुपर्ने गोबर रसायनिक मलको रूपमा समेत प्रयोग गर्ने गरिन्छ । तर गोबरलाई मलको रूपमा खेतमा हाल्दा दाउराको समस्या हुने गरेकाले खाना बनाउन तथा बाँकी रहेको गुइँठा बेचेर आर्थिक आम्दानीसमेत गर्ने गरेको देखिन्छ ।

अधिकांश गाउँका दलित तथा निम्न वर्गका परिवारका महिलाले खाना पकाउँदा दाउराको रूपमा गुइँठा नै प्रयोग गर्ने गरेका छन् । यस भेगका अधिकांश महिला गोबर संकलन गरेर सन्ठी, बाँस परालको टुक्रा मिसाएर गुइँठाको आकार दिने गर्दछन् । बनाएका गुइँठा सुकाएर खाना बनाउनुका साथै नजिकको भारतीय बजारमा लगेर बेच्ने गर्दछन् ।

गुइँठामा लागेको आगो धेरै बेरसम्म रहिरहने भएकाले भारतीय बजारमा यसको माग बढ्दै गएको सम्सीबासीको भनाइ छ । मधेश प्रदेशका आठ जिल्लामध्ये अधिकाश जिल्लासँगै जोडिएको भारतीय बजारमा गएर तराईका महिलाले गुइँठा बेचेर राम्रो आर्थिक लाभ लिन थालेको देख्दा अन्य महिला पनि यसप्रति आकर्षित हुँदै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्