Logo

भेडेटार क्षेत्रका होटल र रिसोर्टमा लगानी बढ्यो

धनकुटा– कोशी प्रदेशकै मुख्य पर्यटकीय क्षेत्रको रूपमा रहेको धनकुटाको भेडेटार क्षेत्रमा होटल र रिसोर्टमा लगानी बढेको छ । आर्थिक मन्दीको दबाबबीच होटल र रेष्टुरेन्टमा लगानी बढेको हो । औद्योगिक र व्यावसायिक क्षेत्रले आर्थिक संकुचनको मार खेपिरहे पनि भेडेटारमा सानो लगानीका होमस्टेदेखि रिसोर्टसम्मका संरचना निर्माण भइरहेका छन् ।

कोरोना महामारीको समयमा सुस्ताएको भेडेटारको होटल व्यवसाय पुन: लयमा फर्कदैछ । पछिल्ला वर्षमा भेडेटारका होटल, रेष्टुरेन्ट र रिसोर्टहरूमा उल्लेख्य रूपमा लगानी थपिँदै गएको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले आर्थिक संकुचनको दबाबका बाबजुद पनि होटल व्यवसायमा उल्लेख्य लगानी गरिरहेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।

उनले भने,‘पछिल्ला वर्षमा यहाँका होटल रेष्टुरेन्टमा पूर्वाधार, जग्गा र अन्य लगानी जोड्दा करिब ७ अर्ब रुपैयाँ लगानी छ ।’ भेडेटार, सिम्सुवा, नाम्जे, काम्फेक र ओख्रे पर्यटकीय श्रृखंलामा साना ठूला २ सय ५० होमस्टे, होटल र रेष्टुरेन्ट सञ्चालनमा रहेको अध्यक्ष लिम्बुको भनाइ छ । धनकुटाको भेडेटार पूर्वको प्रमुख पर्यटकीय गन्तव्य हो ।

यहाँको शीतल हावापानी, ऐतिहासिक स्थल र मनोरम दृष्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । विशेष गरी गर्मीयाममा पूर्वी सीमाका भारतीय सहर र तराइका पर्यटक यहाँ आउँछन् । पर्यटन र होटल अन्तर सम्बन्धित भएकाले पर्यटकको सुविधा र सुरक्षालाई प्राथमिकतामा राखिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन् ।

धनकुटाको भेडेटार हुँदै पाँचथरको रबी र राँके जोड्ने सडक आयोजना निर्माणले यो क्षेत्रमा होटल र पर्यटनका क्षेत्रमा थप लगानी र संभावना बढाएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । भेडेटार, काम्फेक, नाम्जे, ओख्रे, डाँडाबजार, राजारानी जस्ता पर्यटकीय श्रृखंलामा पनि धमाधम होमस्टे, होटल र रेष्टुरेन्ट थपिदैंछन् । यहाँ आउनेमध्ये ४० प्रतिशतभन्दा बढी भारतीय, ५० प्रतिशत आन्तरिक र १० प्रतिशत भारत बाहेकका सार्क राष्ट्र तथा तेस्रो मुलुकका पर्यटक छन् ।

आर्थिक चुनौतीका बाबजुद पनि भेडेटारमा होटल र रेष्टुरेन्ट व्यवसायमा लगानी बढ्दै जानु भविष्यप्रतिको आशा र व्यवसायीको आत्मविश्वासका रूपमा लिन सकिन्छ । आर्थिक दबाबको अवस्थालाई अवसरमा बदल्ने अठोटमा लागेको निजी क्षेत्रले लगानी मैत्री वातावरण र प्रोत्साहन चाहेको व्यावसायीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्