Logo

नेपाल–भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन पूर्ण रूपले सञ्चालन

बारा– दुई चरणमा सम्पन्न नेपाल–भारत अन्तर्देशीय पेट्रोलियम पाइप लाइन परियोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ । दोस्रो चरणमा सोही पाइपलाइनबाट आयातित पेट्रोल र मट्टितेल औपचारिक रूपमा वितरण थालिएसँगै परियोजना पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

बहुप्रतिक्षीत परियोजनाको २०७६ भदौ २४ गते पहिलो चरणमा भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिएको थियो । बोर्डर पाइप लाइनको दोस्रो चरणअन्तर्गत अमलेखगन्ज डिपो, भण्डारण टयांक, प्रयोगशालालगायत अन्य पूर्वाधार निर्माण सम्पन्न भई सफल परीक्षणपछि तीन थरीका पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल र मट्टितेल दैनिक आयात भई निगमले डिपोमा वितरण सुरु गरेको छ ।

निगमको प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले अमलेखगन्ज डिपोमा पूर्ण अटोमेसन गर्न बनाइएको २४ वटा लोडित वे मा ३६ वटा फिलिङ पोइन्ट रहेको बताए । पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयातको सफल परीक्षणपछि आयातित पेट्रोल ५ दिन यता ३ लाख ९६ हजार लिटर नेपालको प्रमुख सहरका डिपोमा पठाइएको नेपाल आयल निगमले जनाएको छ ।

योसँगै अन्तर्देशीय स्थल मार्गबाट टयांकरमार्फत हुने ८० प्रतिशत पेट्रोलियम पदार्थहरूको ढुवानी तथा प्राविधिक नोक्सानी अन्त्य भएको निगमको दाबी छ । आचार्यले डिजेल मात्रै आयात भएको पाइपलाइनबाट असोज यता पेट्रोल र मट्टितेल तीन चरणमा परीक्षण गरिएको बताए । जसअन्तर्गत पहिलो पटक ५ हजार ५ सय किलोमिटर पेट्रोल, एक हजार किलोमिटर मट्टितेल र पुस अन्तिम साता तेस्रो पटक १० हजार किलोलिटर पेट्रोल ल्याएर सफल परीक्षणपछि वितरण सुरु गरिएको आयार्यले जानकारी दिए ।

प्रति घण्टा ३ सय किलोमिटर पेट्रोल आयात गर्न सकिने पाइपलाइनबाट १७ हजार ४ सय ९० किलोलिटर क्षमताको पेट्रोल टयांक रहेकोले दैनिक आयात गर्दा मौज्दातमा समस्या हुने हुँदा आवश्यकता र स्टक अनुसार आयात र वितरण हुने आचार्यको भनाइ छ । आयल निगमको हालको भण्डारण क्षमताले ४० दिनसम्म नेपालको खपत धान्न सक्ने निगम अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्