Logo

मर्मतका लागि माथिल्लो मस्र्याङदी ‘ए’ को विद्युत उत्पादन बन्द

लमजुङ– लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मतका लागि विद्युत उत्पादन बन्द भएको छ । आयोजना संरचना मर्मतका लागि शनिबारदेखि विद्युत बन्द गरिएको आयोजनाले जनाएको हो । विद्युत उत्पादन सुरु भएको आठ वर्षपछि विद्युतगृहमा टर्बाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ ।

२५–२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा टर्बाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक टिमले गरिरहेको छ । शनिबारदेखि सुरु भएको मर्मतकार्य एक हप्तामा सक्ने लक्ष्य रहेको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले बताए । विद्युत प्राधिकरणसँग एक हप्ताको समय लिएर मर्मत थालिएको कर्णको भनाइ छ । रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधक्षेत्रमा पनि मर्मत भइरहेको छ ।

बाँधस्थलमा चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण व्यवसायीले मर्मतको काम गरिरहेका छन् भने टर्बाइन मर्मतमा चिनियाँ विशेषज्ञसहित इन्जिनियर तथा प्राविधिक खटिएका छन् । बर्खामा खोलामा मिसिएका पहिरोसहितको ढुंगामाटो र बालुवाका कणले टर्बाइनका दाँतहरू खियाउने भएकाले हिउँदको समयमा बर्सेनि मर्मत गरिने गरिएको अधिकारीले बताए । आयोजनाबाट हिउँदको समयमा २८ देखि ३० मेघावाट विद्युत उत्पादन हुने गर्दथ्यो ।

मर्मतको काम सकिनासाथ विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत उत्पादन थालेको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी छ ।

प्रतिक्रिया दिनुहोस्