खल्लाबासीलाई भारतीयको दबदबा «

खल्लाबासीलाई भारतीयको दबदबा

महेन्द्रनगर-पूर्वाधार विकासबाट निकै टाढा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला मछेट्टीमा जसिलाम टमाटाले बसोबास गर्न लागेको दशकभन्दा बढी भइसक्यो । तर यहाँ विकासको पूर्वाधारको नाममा एउटा मौसमी सडकमात्रै छ ।
“विकास भनेर सुन्दा सुन्दै दशक बितिसक्यो,” जसिलाम टमाटाले भने, “विकासको नाममा मौसमी सडकमात्रै देख्न मिलेको छ, झरी परेको बेला अस्ताउँछ, घाम परेको बेला उदाउँछ । करिब ३०० घर परिवारको बसोबास रहेको खल्ला मछेट्टी विकासबाट निकै टाढा छ । यहाँका स्थानीयबासी नेपाली फोनसमेत प्रयोग गर्दैनन् । “नेपाली फोनको नेटवर्क नै आउँदैन,” टमाटाले भने, “सञ्चारका लागि भारतीय मोबाइल फोनको प्रयोग गर्नुपर्ने बाध्यता छ, कुनै दिन भारतीय फोनले समेत काम गर्दैन ।”
खल्ला मछेट्टी र टुंडिखेल गरेर यहाँ ३ वटा गाउँ छन् । यहाँ सुविधाको नाममा केही विद्यालय छन् भने एउटा स्वास्थ्य चौकीमात्रै छ । “सुविधाको नाममा निमावि र प्राविसम्मका ३ वटा विद्यालय र एउटा स्वास्थ्य चौकी छ ।” टमाटाले भने, “विद्यालय र स्वास्थ्य चौकीको हालत एउटै छ, नत शिक्षक आउँछन् नत डाक्टर नै ।”
यसैमा सीमा नदी महाकाली किनारमा रहेका खल्ला मछेट्टीमा भारतीयले समेत दुःख दिने गरेका छन् । “२०६६ सालबाट भारतीयले राति महाकाली नदी वारि आएर ढुंगा, गिट्टी तथा काठ तस्करी गरिरहेका छन्,” टमाटाले भने, “गाउँले सबै मिलेर विरोध गरे पनि राति हात हतियार ल्याएर मार्नेसम्मका धम्की दिन्छन् ।” भारतीय बजार जाँदा सीमानाकामा दुःख दिने तथा धम्काउने सम्म गर्ने गरेको टमाटाले बताए ।
यसैगरी भीमदत्त नगरपालिका–९ स्थित टुंडिखेलका राजेन्द्र टमाटाले भारतले महाकाली नदीको तटलाई नेपालतर्फ फर्काएर सीमास्तम्भ समेत ढलाएको बताए । “बर्खायाममा भारतले आफ्नो भागतिर ठूलो मात्रामा बाँध लगाउने गर्दछ ।” राजेन्द्र टमाटाले भने, “३ वर्ष अगाडि भारतले सीमानदी महाकालीको तट नेपाली भू–भागतर्फ लगाउँदा आधा गाउँ नै नदीले बगाएको थियो ।
“१ नम्बर सीमास्तम्भ ३ वर्षदेखि ढलेको अवस्थामा छ,” उनले भने, “नेपाली पक्षले वास्ता पनि गरेको छैन, सीमास्तम्भ अहिले बालुवामा पुरिँदै गएको छ ।”
खल्ला मछेट्टीका स्थानीयलाई रातिसमेत भारतीयको डरले निद्रा लाग्दैन । “राति जंगलबाट काठ निकासी भइरहेको हुन्छ, विरोध गरेपछि भारतीय बजार जाँदा भारतीय एसएसबीले दुःख दिने गर्छन्,” उनले भने ।
गाउँमै विद्यालय नहुँदा ८ कक्षा पास गरेपछि विद्यार्थी विद्यालय जान २ घण्टा जंगल हिँड्नुपर्ने बाध्यता छ । मछेट्टीकी विद्यार्थी ममता बुढाले ८ कक्षाभन्दा बढी पढ्नका लागि २ घण्टा जंगल हिँड्नपर्ने बताइन् । “गाडी केही चल्दैन, बिहानै २ घण्टाको बाटोमा एक्लै जानुपर्छ,” उनले भनिन् । गाउँको किनारसम्म कच्ची सडक पुगे पनि स्थानीय सवारी साधन निकै कम चल्ने गर्दछन् ।
“विद्यालय जाँदा बाटोमा एक्लै हुन्छु मनमनै डरैडरले सताइरहन्छ,”उनले भनिन्, “विद्यालय पुग्न धेरै दिन ढिलो हुन्छ, विद्यालय ढिलो पुग्दा सधै शिक्षकको डर लागिरहन्छ ।” बर्खाको समयमा विद्यालय जान आउन निकै समस्या हुने गरेको उनले बताइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला मछेट्टीमा रहेको एक नम्बर सीमास्तम्भ ढलेको अवस्थामा । तस्बिर ः कारोबार

चन्द्रकान्त जोशी

प्रतिक्रिया दिनुहोस्